२५ आश्विन २०८१, शुक्रबार | Fri Oct 11 2024


बंगबन्धुमा नेपालको पहिलो भेट ताजिकिस्तानसँग


0
Shares

काठमाडौं, असोज ८ । यही असोज १५ देखि २६ गतेसम्म बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबल प्रतियोगितामा नेपालले पहिलो खेल ताजिकिस्तानसँग खेल्ने भएको छ ।

खेल तालिकाअनुसार समूह ‘ए’मा रहेको नेपालले पहिलो खेल असोज १६ गते ताजिकिस्तान र दोस्रो खेलमा असोज २० गते प्यालेस्टाइनसँग खेल्नेछ ।

समूह ‘ए’मा नेपालसहित प्यालेस्टाइन र ताजिकिस्तान छन् । समूह ‘बी’मा आयोजक बंगलादेश, फिलिपिन्स र लाओस छन् ।

नेपाली खेलकुद टोली असोज १५ गते त्यसतर्फ प्रस्थान गर्नेछ ।

अघिल्लो संस्करणको विजेता नेपाल आइतबारसम्म प्रतियोगिता खेल्ने/नखेल्ने दोधारमा थियो ।

आइतबार अघिल्लो संस्करणमा विजेताबापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

एन्फाले पछिल्लो संस्करणको विजेताबापतको पैसा नपाए प्रतियोगिता नखेल्ने बंगलादेश फुटबल महासंघलाई जानकारी गराएपछि आइतबार बंगलादेश फुटबल संघले नेपाललाई दिनुपर्ने २५ हजार डलर उपलब्ध गराएको एन्फा महासचिव इन्द्रमान तुलाधरले जानकारी दिए ।

‘हामीले दिएको समयसीमाभित्र बंगलादेश फुटबल महासंघले पैसा उपलब्ध गराएको छ । अब हामी प्रतियोगितामा सहभागिता जनाउँछौं’–उनले भने ।

सोही रकमबारे छलफल गर्न महासचिव तुलाधर अघिल्लो साता ढाका गएका थिए ।

नेपाल ३१ महिनाअघि बंगबन्धु गोल्डकपको चौथो संस्करणमा च्याम्पियन हुँदाको पाउन बाँकी २५ हजार अमेरिकी डलर पुरस्कार बंगलादेश फुटबल महासंघ (बीएफएफ)ले आइतबार अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पठाएको हो भने २५ हजार त्यतिबेलै पाएको थियो ।

‘ए’ डिभिजन खेलतालिका प्रभावित हुने

यसैबीच, पाँच वर्षको अन्तरालमा हुन लागेको ‘ए’ डिभिजन लिग भने बंगबन्धुको सहभागितासँगै केही समयका लागि स्थगित हुने सम्भावना देखिएको छ ।

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदैछ भने बंगबन्धु गोल्डकपमा नेपालको राष्ट्रिय टोलीले असोज १५ देखि २६ गतेसम्म सहभागिता जनाउनेछ । राष्ट्रिय टोलीका खेलाडी ‘ए’ डिभिजनका ६ क्लबमा आबद्ध छन् ।

बंगबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठ्यारो पर्ने क्लबले बताउँदै आएका छन् ।

बंगबन्धुमा सहभागिता निश्चित भएसँगै लिगका खेल केही तलमाथि हुनसक्ने लिग निर्देशक सन्जीव मिश्रले बताए ।

‘बंगबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेलतालिका सार्वजनिक गरेका हौं । अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छ’–उनले भने ।

एन्फा महासचिव तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने जानकारी दिए ।

महासचिव तुलाधरकाअनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बंगबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका ६ क्लबबीचको खेल सन्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुनेछ । रासस