
काठमाडौं ।
ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिने निर्णय गरेका छन् । उनले केही बेरमा प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाउने तयारी गरेका हुन् ।
प्रधानमन्त्री कार्कीले हालै बसेको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसँग आबद्ध मन्त्रीहरूलाई मार्गप्रशस्त गर्न आग्रह गरेकी थिइन् । घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा औपचारिक रूपमा जोडिएपछि राजीनामा दिने सोचमा पुगेका हुन् ।
स्रोतका अनुसार घिसिङ र रास्वपाबीच उनलाई उपसभापति बनाउने सहमति भइसकेको छ, यद्यपि त्यसको औपचारिक कार्यान्वयन भने बाँकी छ । “त्यसकारण आफू कुनै पार्टीको सदस्य होइन भनेर उहाँले स्पष्ट पार्दै आउनुभएको थियो, तर अनावश्यक दबाब सिर्जना गरियो,” स्रोतले बतायो ।
घिसिङ आगामी आमनिर्वाचनमा रास्वपाबाट उम्मेदवार बन्ने तयारीमा छन् । उनले काठमाडौं–३ बाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने योजना बनाएका छन् । उम्मेदवारी दर्ता गर्नुअघि नै राजीनामा दिने बताएका घिसिङले त्यसैअनुसार कदम चाल्न लागेका हुन् ।
रास्वपा स्रोतका अनुसार पछिल्ला दुई दिनयता घिसिङले कुनै राजनीतिक भेटघाट गरेका छैनन् । उज्यालो नेपालका अध्यक्ष अनुपकुमार उपाध्यायलाई समेत उनले भेट नदिएको बुझिएको छ । यस विषयमा थप जानकारी दिन घिसिङले आज राति ९ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्