काठमाडौं ।
पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ ।
अर्थमन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ ।
चालु आ.व.को कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ । २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ । २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो ।
वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ । कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ ।
बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६ दशमलब १७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५ दशमलब ३६ प्रतिशत रहेको छ ।





प्रतिक्रिया दिनुहोस्