Logo २४ पुस २०८२, बिहिबार | Thu Jan 8 2026


छलफल नगरी राष्ट्रिय सभा उम्मेदवार छनोट गरेकोमा नेता केसीकाे आपत्ति


299
Shares

काठमाडौं ।

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले राष्ट्रिय सभाका सदस्य उम्मेदवार छनोटको प्रक्रियाप्रति आपत्ति जनाएका छन् ।

उनले बुधबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लोकतान्त्रिक मूल्य र मान्यता विपरीत उम्मेदवार छनोट गरिएको बताएका हुन् ।

पार्टीभित्र पर्याप्त छलफल नगरी नौ जना व्यक्तिको नाम टुंग्याइएको उनको आरोप छ । यसलाई लोकतन्त्रका लागि लज्जास्पद प्रक्रिया भएको टिप्पणी उनले गरेका छन् ।

‘राष्ट्रिय सभाको प्रतिनिधि छान्ने सर्न्दभमा जुन खालको छलफल गर्‍यौँ, त्यसमा अहिलेसम्म दुस्खद् कुरा मैले भन्नै पर्दा कुनै व्यक्तिको विषयमा छलफल भएन । अहिले व्यक्तिको नाम प्रस्तुत सभापतिजीले गर्नुभयो ।

त्यसमा कुनै छलफल नहुनु सबैभन्दा दुख पक्ष हो । नेपाली काँग्रेसजस्तो लोकतान्त्रिक पार्टी जुन पार्टीले पद्धति मात्रै बसालेको होइन, प्रक्रियाको पनि सबैभन्दा महत्त्वपूर्ण अंग हो लोकतन्त्रको । त्यो प्रक्रियागत रूपमा कहीँ छलफल नगरी अहिले जुन ९ जनाको नाम ल्याइएको छ । इतर र भितरको ६० र ४० को भागबण्डामा नै यो नाम आएको छ,’ उनले भने ।

राष्ट्रिय सभाका प्रतिनिधि छनोटको सन्दर्भमा लामो समयसम्म बैठक बसे पनि कुनै पनि व्यक्तिको योग्यता, क्षमता, योगदान र औचित्यमाथि छलफल नै नभएको उनले बताएका छन् । ६०(४० को भागबण्डाका आधारमा उम्मेदवार छनोट गरिएको पनि आरोप लगाए ।

‘यो ९ जनाको मान्छेहरूको नाममा एउटा पनि जनजाति पर्न सक्या छैन भने साह्रै दुस्ख पाएका, संघर्ष गरेका राजनीतिज्ञ अथवा नेपाली काँग्रेसलाई, लोकतन्त्रलाई सहयोग गरेका कलाकार, साहित्यिक क्षेत्रका धेरै मान्छेलाई प्रतिनिधित्व गराउनुपर्ने थियो,’ केसीले भने, ‘सबभन्दा पहिला त आदिवासी जनजातिको प्रतिनिधित्व नै छैन । व्यक्तिको नाममा म टिप्पणी गर्न चाहन्नँ तर जुन प्रक्रियाबाट जसरी ल्याइएर टुंग्याईयो यो चाही लोकतन्त्रको निम्ति लज्जास्पद भन्ठान्छु मैले । लोकतान्त्रिक पार्टी भएर ४ दिनसम्म बैठक गरेर व्यक्तिगत औचित्य, उपयोगिता, क्षमता, उसको योगदान कुनैको छलफल नभईकन टक्क लिष्ट आएर जो प्रस्तुत गरियो त्यसमा मैले असहमति जनाए ।’