काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले आफूले निर्वाचनमा उम्मेदवारी दिनेबारे कुनै निर्णय नगरेको स्पष्ट पार्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवारी दिने चर्चा भइरहेका बेला उहाँले आफूले अहिलेसम्म सो विषयमा निर्णय नलिएको स्पष्टीकरण दिनुभएको हो । बुधवार नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री खरेलले आफू र वर्तमान सरकारको सम्पूर्ण ध्यान चुनावमा रहेको पनि बताउनुभयो ।
आफूले निर्वाचनमा उठनका लागि कुनै पनि पार्टीसँग छलफल समेत नगरेको विषयलाई लिएर सञ्चार माध्यामहरुले झुटो समाचार संप्रेषण गरेको भन्दै मन्त्री खरेलले असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म यहाँहरुलाई आज स्पष्ट पार्न चाहन्छु–मैले अहिलेसम्म चुनावमा उठने वा नउठने भन्ने केही पनि निर्णय गरेको छैन । दोस्रो कुरा यहाँहरुलाई म स्पष्ट पार्न चाहन्छु–म आजको दिनसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, गएको छैन । वार्ता वा छलफल गरेको छैन । आउछु पनि भनेको छैन । जान्छु भनेको छैन । मैले केही पनि भनेको छैन । र, मेरो अहिले सम्पूर्ण ध्यान यो अन्तरिम सरकारको सम्माननीय प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको ध्यान चुनाव गराउन रहेको छ । र, आजको दिन यो मितिसम्म म कुनै पनि पार्टीमा गएको पनि छैन । चुनाव उठछु वा उठदिन केही पनि भनेको छैन । तर समाचार अलिकति फरक ढंगले आईरहेको छ । त्यसप्रति मेरो आपत्ति केही पनि छैन । तर सही समाचार चाहीँ आज म तपाईहरुमार्फत भन्छु–मैले चुनाव उठने अथवा नउठने निर्णय गरेको छैन ।’
मन्त्री खरेलले मुलुक निर्वाचनमा होमिएकाले संवेदनशील भएर सही समाचारमात्रै संप्रेषण गर्न पनि सञ्चार माध्यामहरुलाई आग्रह गर्नुभयो ।





प्रतिक्रिया दिनुहोस्