Logo २५ पुस २०८२, शुक्रबार | Fri Jan 9 2026


जापानमा सवारी दुर्घटनाका कारण साढे २ हजार बढीको मृत्यु


429
Shares

एजेन्सी । जापानभरी सन् २०२५ मा भएका सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या अघिल्लो वर्षको तुलनामा १ सय १६ ले घटेर २ हजार ५ सय ४७ पुगेको प्रहरीकाे तथ्यांकले देखाएको छ ।

राष्ट्रिय प्रहरी निकाय (एनपीए) का अनुसार सन् १९४८ मा तुलनात्मक तथ्यांक उपलब्ध भए यताकै यो सबै भन्दा न्यून संख्या भएता पनि सन् २०२५ सम्ममा वार्षिक ट्राफिक मृत्युदरलाई २ हजार भन्दा कममा झार्ने सरकारको लक्ष्य भने पूरा हुन नसकेकाे हाे । एनपीएका अनुसार कुल मृतकहरूमध्ये ६५ वर्ष वा सो भन्दा माथिका ज्येष्ठ नागरिकको हिस्सा ५५ दशमलव ९ प्रतिशत अर्थात १ हजार ४ सय २३ रहेको छ ।

सन् २०२५ मा सवारी दुर्घटनाको संख्या अघिल्लो वर्षको तुलनामा ३ हजार ६ सय ५९ ले घटेर २ लाख ८७ हजार २ सय ३६ पुगेको हाे। घाइते हुनेको संख्या ६ हजार १ सय १ ले घटेर ३ लाख ३८ हजार २ सय ९४ मा झरेको छ । राष्ट्रिय सार्वजनिक सुरक्षा आयोगका अध्यक्ष जिरो आकामाले एक विज्ञप्तिमार्फत निर्धारित लक्ष्य पूरा हुन नसकेकोमा खेद व्यक्त गर्नुभएकाे हाे।

उहाँले प्रहरीलाई ट्राफिक सुरक्षा शिक्षालाई प्रभावकारी रूपमा प्रवद्र्धन गर्न र मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा सवारी चलाउँदा स्मार्टफोन प्रयोग गर्ने जस्ता घातक र खतरनाक ट्राफिक अपराधहरूमाथि कडा कारबाही गर्न निर्देशन दिने बताउनुभयाे।