काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पार्नुभएको छ ।
मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताउनुभएको हो । उहाँले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताउनु भयो ।
उहाँले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको एकताले आफूहरु नडराएको पनि जिकिर गर्नुभयो । उहाँले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उहाँसँग कुरा गर्न कुनै आईतवार कुर्नु नपर्ने उहाँको टिप्पणी छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी एकता भइसकेपछि सबै प्रदेहरुमा एकता सभा राखेको तपाईहरुलाई थाहा नै छ । दिल्लीमा पनि एउटा एकता सभा राखिएको थियो । म मुख्यतः त्यही कामका लागि भारत भ्रमणमा गएको हो । अब त्यहाँ गइसकेपछि विभिन्न खालका भेटघाट त भइ नै हाल्छन् । हाम्रो राजदुत आउनुभयो, कयौँ भारतीय जनता पार्टी (बिजेपी)का नेताहरु आउनुभयो । स्वागत गर्नुभयो, सम्मान गर्नुभयो । तर त्यस्तो औपचारिक कुराकानी केही पनि भएको छैन । गठबन्धनको केही पनि कुरा भएको छैन । घेटघाट त विभिन्न कामका लागि हुन्छ तर कुनै गठबन्धन भएको छैन, हुदैन पनि । हामी रवि–बालेनको गठबन्धबाट बिल्कुल डराएका छैनौँ । रविलाई मेरै क्याबिनेटमा दुई चोटि गृहमन्त्री बनाएको हो । उहाँसँग कुरा गर्न मैले कुनै आईतवार पर्खनुपर्दैन । हामी डराएका पनि छैनौँ ।’
उहाँले आफूहरु कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताउनु भयो ।





प्रतिक्रिया दिनुहोस्