काठमाडाैं ।
प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै तीन जना मन्त्रीलाई राजीनामा दिन आग्रह गर्नुभएको छ ।
विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको र आगामी निर्वाचनमा उम्मेदवार बन्ने संकेत पाएको भन्दै प्रधानमन्त्री कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङ, सञ्चारमन्त्री जगदीश खरेल र युवा तथा खेलकूदमन्त्री बब्लु गुप्तालाई राजीनामा दिन आग्रह गरेको बुझिएको छ ।
केही दिनदेखि ब्यक्तिगत रुपमा समेत उनीहरुलाई त्यस्तो आग्रह गर्दै आउनु भएकी प्रधानमन्त्री कार्कीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमै घिसिङ, खरेल र गुप्तालाई राजनीतिमा जाने भए मार्गप्रशस्त गर्न आग्रह गर्नुभएको हो ।
निष्पक्ष निर्वाचन गराउने लक्ष्य लिएको नागरिक सरकारका मन्त्रीहरू दलमै आबद्ध भएर निर्वाचनमा सहभागी हुने अवस्था उचित नहुने भन्दै प्रधानमन्त्रीले ती मन्त्रीहरूलाई पद त्याग गरेर सहज बनाइदिन आग्रह गर्नुभएको बुझिएको छ । सरकारमा विकासे मन्त्रालयहरुको सम्हाल्नुभएका मन्त्री घिसिङ उज्यालो नेपाल पार्टीको संरक्षक बन्नुभएको थियो भने रास्वपासंगको पार्टी एकतापछि उहाँ उपसभापति बनिसक्नुभएको छ ।
यस्तै खेलकूदमन्त्री गुप्ता पनि रास्वपा र उज्यालो नेपालको एकता प्रकृयामा सहभागि भएकाले उहाँलाई पनि राजीनामा दिन आग्रह गरिएको हो । सञ्चारमन्त्री खरेल समेत रास्वपाबाट चुनावमा उठ्ने तयारी गरेको सूचनाका आधारमा प्रधानमन्त्री कार्कीले मार्ग प्रशस्त गरिदिन आग्रह गर्नुभएको हो ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि नागरिक सरकारका रूपमा सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएका थियो ।





प्रतिक्रिया दिनुहोस्