Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


चिसाे बढेसँगै अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढ्याे


195
Shares

काठमाडाैं । काठमाडाैं उपत्यकासहित देशैभरी दैनिक रुपमा चिसाे बढ्ने क्रम जारी रहेकाे छ।

जसमा सबै भन्दा बढी तराई क्षेत्रमा शीतलहर र चिसो हावा चल्न थालेसँगै अस्पतालहरूमा टाउको दुखाइको समस्या लिएर पुग्ने बिरामीको सङ्ख्या ह्वात्तै बढेको हाे। तापक्रममा आएको गिरावट र चिसो हावाका कारण मानिसहरूको दैनिक जनजीवन मात्र प्रभावित भएको छैन । यसले स्वास्थ्यमा समेत प्रत्यक्ष असर पारेको छ। विराटनगरस्थित कोशी अस्पतालमा मात्रै पछिल्लो समय टाउको दुखाइका बिरामीहरूको चाप बढ्दै गएको चिकित्सकहरूले बताएका छन्।

कोशी अस्पतालले चिसाे मौसममा शरीरको तापक्रम सन्तुलन बिग्रनु र रक्तसञ्चार प्रणालीमा आउने अवरोधले टाउको दुख्ने समस्या निम्त्याउने जनाएकाे छ। चिसोका कारण रक्तनलीहरू खुम्चिने हुँदा टाउकोतर्फ हुने रक्तप्रवाहमा कमी आउँछ। जसले गर्दा मानिसले टाउको भारी भएको वा च्यापिएको जस्तो महशुस गर्छन्। चिसाेमा तिर्खा कम लाग्ने भएकाले मानिसले पानी कम पिउने गर्छन् ।

तर शरीरमा हुने पानीको अभावका कारण नै टाउको दुखाइको प्रमुख कारण बन्ने गरेको अस्पतालले जनाएकाे हाे।