Logo २१ पुस २०८२, सोमबार | Mon Jan 5 2026


केन्द्रीय सुरक्षा समितिको बैठक: के-के गर्‍यो निर्णय ?


325
Shares

काठमाडौं । गृह मन्त्रालयमा आइतबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले निर्वाचनको सुरक्षा तयारी, धार्मिक सहिष्णुता कायम गर्ने तथा फरार कैदीबन्दी पक्राउ अभियानलाई तीव्रता दिने लगायतका महत्वपूर्ण निर्णयहरू गरेको छ।

गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेका अनुसार बैठकमा आगामी निर्वाचनको सन्दर्भमा सुरक्षा निकायहरूले अहिलेसम्म गरेका अन्तिम तयारीबारे जानकारी लिने र आवश्यक समन्वय गर्ने निर्णय भएको छ। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सुरक्षा संयन्त्रलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल भएको जनाइएको छ।

बैठकमा पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमार्फत एक–अर्काका धर्म र धार्मिक समुदायलाई लक्षित गर्दै गरिएका गलत तथा भ्रामक टिप्पणीका कारण धार्मिक सहिष्णुतामा खलल पुग्ने अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको थियो। यस विषयमा विशेष छलफल गर्दै जिल्लाहरूमा धार्मिक सद्भाव बिगार्न खोज्ने व्यक्ति वा समूहलाई कानुनी दायरामा ल्याउने निर्णय गरिएको छ।

यस्तै, स्थानीय प्रशासनले समन्वयात्मक भूमिका खेल्दै स्थिति थप बिग्रन नदिन सक्रिय भूमिका निर्वाह गर्ने तथा प्रदेश र स्थानीय सरकारलाई पनि यस्तै समन्वयात्मक भूमिका निर्वाह गर्न अनुरोध गर्ने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

बैठकले धार्मिक गतिविधि तथा त्यससँग जोडिएका संवेदनशील विषयमा थप विस्तृत छलफल गर्न सोमबार गृह मन्त्रालयमै राष्ट्रिय मानवअधिकार आयोग, अन्य संवैधानिक आयोगहरू र सुरक्षा निकायहरू सहभागी हुने संयुक्त बैठक बस्ने निर्णय पनि गरेको छ।

यसका साथै, जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दीहरूको पक्राउ अभियानलाई थप तदारुकता दिने र सुरक्षा निकायहरूको विशेष अपरेसनलाई अझ सक्रिय बनाउने विषयमा समेत विस्तृत छलफल भएको गृह प्रवक्ताले जानकारी दिए।

केन्द्रीय सुरक्षा समितिको बैठकले मुलुकको सुरक्षा अवस्था, सामाजिक सद्भाव र निर्वाचन व्यवस्थापनलाई प्राथमिकतामा राख्दै समन्वय र सतर्कता बढाउने निष्कर्ष निकालेको छ।