एजेन्सी। चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवानलाई चीनमा गाभ्नबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
अंग्रेजी नयाँ वर्ष सन्२०२६ को अवसरमा सन्देश दिंदै राष्ट्रपति सीले सामुद्रिक जलमार्गको दुई छेउमा बस्ने चिनियाँहरूबीच रगतको सम्बन्ध रहेकाले उनीहरुबीचको एकीकरणलाई कसैले रोक्न नसक्ने बताउनुभएको हो । मातृभूमिको एकीकरण समयको माग भएको पनि उहाँको जिकीर छ । पछिल्ला तीन दिनदेखि चिनियाँ सेनाले स्वशासित द्वीप ताइवान वरिपरि ठूलो स्तरमा सैन्य अभ्यास गरिरहेको बेला राष्ट्रपति सीको यस्तो भनाइ आएको हो ।
राष्ट्रपति सीले आफ्नो सम्बोधनमा चीनको अर्थतन्त्र, रक्षा र प्रविधिका क्षेत्रमा भईरहेको प्रगतिको पनि चर्चा गर्नुभएको छ । भारततर्फ ब्रह्मपुत्र भनिने यारलुङ नदीको तल्लो भागमा विश्वकै ठूलो बाँध बाँधेर जलविद्युत परियोजनाको निर्माण शुरु भइसकेको चर्चा गर्दै उहाँले उक्त आयोजनाको लागत १ सय ७० अर्ब डलर रहेको पनि बताउनु भएको छ । त्यसैगरी चीनले विकास गरेका रक्षा संयन्त्रको पनि सम्बोधनमा चर्चा गर्दै उहाँले एआइए विकासमा हासिल गरेको प्रगतिको पनि चर्चा गर्नुभयाे ।
राष्ट्रपति सीले यस वर्ष चीनको घरेलु उत्पादन (जीडीपी) २० ट्रिलियन डलर नाघ्ने दावी समेत गर्नुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्