काठमाडौं। सेयर बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार परिसूचकमा दोहोरो अंकको गिरावट आएको छ।
नेप्से परिसूचक १२ दशमलव ८३ अंकले घटेर २ हजार ६ सय २० दशमलव ९२ विन्दुमा ओर्लिएको हो । बजारमा कारोबार रकम समेत घटेको छ । अघिल्लो दिन ५ अर्ब ५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार कारोबार रकम ४ अर्ब ७१ करोडमा सीमित भएको हो । कूल ३ सय ३६ कम्पनीका १ करोड १ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको थियो ।
कारोबार भएका कम्पनीमध्ये जम्मा ६३ कम्पनीको सेयर मूल्य बढेको छ। १ सय ८९ कम्पनीको मूल्य घटेको हाे। ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ। बजारका १३ समूहका सूचकमध्ये अन्य बाहेक सबै समूह घटेका छन् । सबै समूहका सूचकको घटबढ एक प्रतिशत भन्दा कम रहेको हाे ।
बजार ओरालो लागे पनि केही कम्पनीका लगानीकर्ताले उल्लेख्य कमाएका छन्। विन नेपाल लघुवित्तको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको हाे। त्यस्तै, एसवाई प्यानलको मूल्य ९ दशमलव ०९ प्रतिशत र हिमस्टार ऊर्जाको मूल्य ८ दशमलव ०९ प्रतिशतले बढेको छ। बजारमा ग्लोबल आईएमई समुन्नत योजना २ म्युचुअल फण्डमा १० प्रतिशत मूल्य घटेको हाे ।
कारोबार रकमका आधारमा एसवाई प्यानल नै शीर्ष स्थानमा रहेकाे छ। यो कम्पनीको २३ करोड ४१ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भयो । त्यसैगरी शिवम सिमेन्टको १३ करोड ८० लाख र बुटवल पावर कम्पनीको १२ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको नेप्सेले जनाएकाे छ।





प्रतिक्रिया दिनुहोस्