Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


नवाैं एनभिए भलिबलको दुवै विधामा विभागीय क्लबको दबदबा

महिलातर्फ पुलिस र एपिएफ सेमिफाइनलमा प्रवेश, पुरुषतर्फ भने खिलजी र एपिएफ पुगे अन्तिम आठमा

91
Shares

काठमाडाैं। नेपाल पुलिस क्लब र एपिएफ क्लबको महिला टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको सेमिफाइनल पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्डहलमा मंगलबार भएको खेलमा पुलिसले एपिएफलाई ३–२ ले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । समूह ‘बी’ मा एक खेल गुमाए पनि अघिल्लो दुई खेल जितेको एपिएफ पनि अन्तिम चारमा पुगेको छ । एक खेल कम खेलेको पुलिस र एपिएफको समान ६ अंक छ । साेही कभर्ड हलमा शुरुको २ सेट लगातार जितेको पुलिसले त्यसपछि लगातार २ सेट गुमाएको थियो । पुलिस २५–२१,२५–१५,२२–२५,२१–२५,१५–९ ले विजयी भएको थियो ।

त्यस्तै, खिलजी युवा क्लब पहिलो जित दर्ता गर्दै नवौं एनभिए भलिबल च्याम्पियनसिपको पुरुषतर्फको क्वाटरफाइनलमा पुगेको छ । पाँचौं दिनको दोस्रो खेलमा ढोरपाटन स्पोर्टस क्लबलाई ३–० ले पराजित गर्दै खिलजी अन्तिम आठमा पुगेको हो । खिलजीले ढोरपाटन स्पोर्टस क्लबलाई २५–१५,२५–१९,२५–२३ ले हराएर समूह ‘बी’ मा पहिलो जित निकालेको हो । दुवै खेल जितेको नेपाल पुलिस क्लब यसअघि नै समूह विजेताका रुपमा नकआउट चरणमा पुगिसकेको छ । खिलजीले त्रिभुवन आर्मी क्लबसँग क्वाटरफाइनलमा खेल्नेछ ।

त्यसअघि एपिएफ क्लबको पुरुष टोली नवौं एनभिए भलिबल च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेको थियो । मणीमकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफले अन्तिम आठको यात्रा तय गरेको हो । समूह ‘ए’ को अन्तिम खेलमा एपिएफले मणीमकुन्दलाई २५–१०,२५–१६,२९–२७ ले पराजित गरेको हो । एपिएफ समूह उप विजेताका रुपमा नकआउट चरणमा पुगेको छ। दुवै खेल जित्दै टिप टप हेल्प नेपाल स्पोर्टस क्लब यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ।

एपिएफले क्वाटरफाइनलमा समूह ‘सी’ को विजेता रुकुम पश्चिम भलिबल क्लबको सामना गर्ने भएकाे हाे।