Logo १५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025


कीर्तिपुरको डाँडामा बसेर मासिक ३ लाख रूपैयाँ कमाउन सकिन्छः अर्थमन्त्री खनाल


0
Shares

काठमाडाैं। अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताउनुभएको छ।

काठमाडाैंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । आईटी क्षेत्रमा आफ्नो ज्ञान,सीप प्रयोग गरेर विदेशी पूँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उहाँको भनाइ छ । उहाँले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताउनुभयो ।

नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि उहाँले बताउनुभएकाे छ। मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानूनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उहाँले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गर्नुभयो । उहाँका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन् । अर्थमन्त्री खनालले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने नेपाली कांग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताउनुभयो ।

अर्थमन्त्री खनालले जेनजी विद्रोहपछि पर्यटन उद्योग एवं आन्तरिक एवं वाह्य लगानीका लागि उचित वातावरण बनेर नसकेको भन्दै यसमा सरोकारवाला सबैले ध्यान पुर्‍याउनुपर्नेमा जोड दिनुभएकाे छ।