Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्छः महासचिव विप्लव


156
Shares

काठमाडाैं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले कालोधनलाई वैध बनाउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको छ।

पार्टीकाे बिहीबारदेखि शुरु भएको केन्द्रीय समितिको बैठकमा उहाँले कालो धनलाई जनताकोबीचमा स्वीकृत हुनेगरी ल्याउन नोटबन्दी गर्नुपर्ने बताउनुभएको हो। उहाँले नेपालबाट ५ सय र १ हजार रुपैयाँको नोटमा प्रतिवन्ध लगाउनुपर्ने बताउनुभयो । त्यसको सट्टामा नयाँ नयाँ नोट दुई सय, ४ सय र दुई हजार रुपैयाँका नोटहरु प्रचलनमा ल्याउन सकिने उहाँको भनाइ छ । उहाँले भ्रष्टाचार नियन्त्रणको लागि उच्चस्तरीय छानविन आयोग बनाउनपर्नेमा पनि जोड दिनुभयो। उच्चस्तरीय समितिले छानविन गरेर उच्चस्तरीय न्यायलयबाट फैसला हुनेगरी व्यवस्था गर्नपर्ने उहाँले बताउनुभयाे।

त्यो न्यायलयबाट भएको फैसलालाई सर्वोच्चमा पुनरावेदन गर्ने स्थिति बनाउन नहुने पनि उहाँले बताउनुभयो । भ्रष्टाचारीहरुको सम्पती राष्ट्रियकरण गरेर हदैसम्मको जन्मकैदसम्मको फैसला गर्ने व्यवस्था गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभएकाे छ। उहाँले पार्टीले उठाएका माग पूरा नगरे आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो । तर आन्दोलन शान्तिपूर्ण हुने महासचिव विप्लवको भनाइ छ ।

महासचिव विप्लवले वर्तमान सरकारले निर्वाचन गराउन नसक्ने ठोकुवा समेत गर्नुभयो । प्रहरी र कर्मचारी सबैको मनोबल गिरेको अवस्थामा निर्वाचन गराउनको लागि सर्वपक्षीय सरकार गठन गर्नु आजको आवश्यकता भएको उहाँको भनाइ छ । उहाँले नेपालमा कम्युनिष्ट पार्टीको एकताको आवश्यकता रहेको भएता पनि तत्काललाई भने सम्भावना नरहेको बताउनुभयो ।

नेकपा एमालेसँग मिलेको आरोपमा लाग्ने गरेको उल्लेख गर्दै महासचिव विप्लवले केही समान एजेण्डाहरु सबैसँग मिल्ने बताउनुभयो । सोही अनुसार सर्वपक्षीय सरकारको एजेण्डा एमालेसँग मिल्न गएको उहाँको भनाइ छ ।