काठमाडौं । नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता यहि पुस २३ गतेदेखि शुरु हुने भएको छ।
साेही खेल शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना हुने भएकाे हाे। प्रतिष्ठानले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस २३ देखि २६ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदकाे कभर्ड हलमा नवौं राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराएकाे छ।
प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब र एभरेष्ट भलिबल क्लब गरी ५ टोलीको सहभागिता रहने आयोजकले जनाएको हाे।
सहभागी टोलीलाई २ समूहमा विभाजन गरि लिग कम नकआउटका आधारमा हुने बताइएको छ। प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ पुरस्कार र उपविजेताले २ लाख ५० हजार र तेस्रो हुने टोलीलाई १ लाख २५ हजार रुपैयाँ नगद प्रदान गरिने प्रतिष्ठानले जनाएको छ।
त्यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँसँगै अन्य पुरस्कार प्रदान गरिने र विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतिष्ठानले जानकारी गराएकाे हाे।






प्रतिक्रिया दिनुहोस्