काठमाडाैं। मुलुकको राजनीतिमा पुराना र नयाँ दलबीच रस्साकस्सी नै चलेको छ।
जेनजी आन्दोलनपछि नयाँ दलहरु जनतामा जान उत्साहित भएका छन् भने पुराना दलहरु जनतामा जाने आँट गरिरहेका छैनन् । आगामी फागुन २१ गते घोषित निर्वाचनमा सहभागी हुन नयाँ दलहरुमा उत्साह बढ्दा पुराना दलहरुले विघटित संसद पुनस्थापना गरेर आफ्नो गुमेको शक्ति फर्काउने दाउमा लागेका हुन् ।
पुराना राजनीतिक दलहरुले सक्ता र शत्तिमा हुँदा पनि देशलाई परिणाम दिन नसक्दा जेनजी आन्दोलन भएको थियो । पटक-पटक सक्ता र शत्तिमा पुग्ने दलका नेताहरु मुलुक बनाउनुको साटो बेथितिमा तल्लीन भएपछि जेनजी युवाहरुले सडमा उत्रिएर विद्रोह गरेका थिए। त्यो विद्रोहपछि मुलुकको राजनीतिक अवस्था परिवर्तन भएको छ । यसले पुराना राजनीतिक दलहरुलाई एक ठाउँमा उभ्याएको छ भने नयाँ दलहरुलाई पनि आपसमा तालमेलका लाग बाध्य बनाइरहेको छ।
अन्तरिम सरकारले फागुन २१ मा निर्वाचन गर्ने तयारी गरिरहेको छ । सरकारका गतिविधि निर्वाचनमा केन्द्रित भइरहेका छन् । यसले केही नयाँ दलहरुलाई उत्साहित पनि बनाइरहेको छ। खासगरी विभिन्न वाम घटकहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुमा निर्वाचनले उत्साह थपेको देखिन्छ । साेही पार्टीका संयोजक पुष्पकमल दाहालले अहिले नै निर्वाचनका गतिविधिहरु अघि बढाइसक्नुभएकाे छ।
अर्कोतर्फ, विगतमा कहिले मिलेर त कहिले आलोपालो सत्तामा बस्दै आएका नेपाली कांग्रेस र नेकपा एमालेलाई भने निर्वाचनको तातो खासै लागिसकेको छैन । यी दुवै दल प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दा बोकेर हिँडिरहेका छन् । यद्यपि, कांग्रेसले आन्तरिक रुपमा निर्वाचनको तयारी पनि सँगसँगै अघि बढाइरहेको छ । तर, मुल विषय नै प्रतिनिधि सभा पुनःस्थापनाको रहेको देख्न सकिन्छ । जेनजी आन्दोलनपछिको परिवर्तनलाई उनीहरुले सहज रुपमा स्वीकार गरेका छैनन् । यो आन्दोलनपछि यी दलहरुमा वितृष्णा बढेको हुनाले पनि उनीहरुले अहिले नै निर्वाचनमा जान तयार नभएको बुझ्न कठीन छैन् ।
पुराना र नयाँ दलहरु चुनाव र पुनस्थापनाका लागि आ-आफ्नै रणनीति र तयारीमा लागेका छन् । तर, देश बनाउने विषयमा उनीहरुबीच एकमत देखिएको छैन । जेनजी आन्दोलनपछि मुलुकले ठूलो क्षति बेहोरेको अवस्था छ । यसबाट मुलुकलाई निकास दिनका लागि उनीहरुका गतिविधि अघि बढेका छैनन् । अहिले पनि सत्ताको नेतृत्व कसले गर्ने भन्नेमा मात्रै उनीहरु सीमित भएको राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले बताउनुभयाे।
राजनीतिक दलहरुले आपसमा प्रतिस्पर्धा, वाद-प्रतिवाद गर्नु नराम्रो होइन । यस्ता गतिविधि अघि बढाइरहँदा मुलुकले के पायो भन्ने कुरा महत्वपूर्ण हो । दलीय व्यवस्थामा दल मात्र बनेर हुँदैन। दलहरुले मुलुक र जनतालाई दिने योगदान महत्वपूर्ण हुन्छ । तर त्यसतर्फ भने अहिले पनि कुनै पनि दल लागेको महसुश गर्ने अवस्था छैन ।
भिडियाे रिपोर्ट:





प्रतिक्रिया दिनुहोस्