Logo ७ पुस २०८२, सोमबार | Mon Dec 22 2025


श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि जेठानको हत्या

हत्या गरेकाे अभियाेगमा २ जना पक्राउ

897
Shares

काठमाडौं । श्रीमतीलाई विदेश पठाउन लिएको ऋण तिर्न नसकेपछि २ जनाको श्रृंखलाबद्ध हत्या गर्ने दुई व्यक्ति पक्राउ परेका छन् ।

गत मंसिर २३ गते ललितपुरको महालक्ष्मी नगरपालिका-८ स्थित शेरेफाँटमा सिन्धुली गोलन्जोरका गाउँपालिका-३ का केशवराज हायुको हत्यापछि दोषी खोज्न हिँडेको प्रहरीले भोलिपल्टैको अर्को हत्याको घटनामा पनि अनुसन्धान गर्नुपरेको थियो। अन्ततः दुवै जनाको हत्या एकै समूहबाट भएको निष्कर्षमा प्रहरी पुगेको छ। मंसिर २४ गते भोजपुर अरुण गाउँपालिका-३ घर भएर ललितपुरको लुभु बस्दै आएका २१ वर्षीय पारुहाङ राई ललितपुरको लाकुरी भञ्ज्याङमा मृत भेटिएका थिए।

हायु र राईको हत्या एकै व्यक्ति र एउटै कारणले भएको प्रहरीको अपराध अनुसन्धान कार्यालयले जनाएकाे हाे। पत्नीलाई जापान पठाउनका लागि लिएको ऋण तिर्न नसक्दा हायुको हत्या भएको थियो । नाताले उनका बहिनी ज्वाइँ देवराज ढुंगेलले हायुको हत्या गरेका थिए । सिन्धुलीकाे सुनकोशी गाउँपालिका-४ का २१ वर्षीय ढुंगेल हायुका बहिनी ज्वाइँ हुन् । ढुंगेलले गाउँकै साथी २० वर्षीय जयराम अधिकारीसँग मिलेर हायु र राईको हत्या गरेका हुन् । दुवैसँग ढुंगेलले ऋण लिएका थिए ।

ललितपुरको लाकुरीभञ्ज्याङमा राईको शव फेला परेको थियो । हायुको शव भेटिएको शेरेफाँट र लाकुरी भञ्ज्याङ नजिकै पर्छ । अघिल्लो दिन हायुको हत्यामा सफलता मिलेपछि ऋण लिएका जतिलाई मार्नु नै उपयुक्त हुने ठानेर त्यस्तो कार्य गरेको पक्राउ परेका ढुंगेलले प्रहरीलाई बताएका छन् ।

हायुको शव यहि पुस २ गते फेला परेको थियो । दुवै जनाको हत्याका क्रममा धारिलो हतियारले टाउकोमा प्रहार गरिएको थियो ।