Logo २७ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025


केभिआर समिट च्यालेन्जसमा युगल र सान्या प्रथम


65
Shares

काठमाडौं ।

केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएको छ ।

ट्रेलमान्डु नेपालको आयोजनामा शनिबार भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए । नेपालकै हरेन्द्र के चौधरी र दीपक तामाङ दोस्रो र तेस्रो स्थानमा रहे । हरेन्द्रले तीन घन्टा सात मिनेट ४३ सकेन्ड तथा दिपकले तीन घन्टा २१ मिनेट २३ सकेन्डमा दौड पुरा गरे । त्यसैगरी महिलातर्फको विजेता सान्याले तीन घन्टा ३९ मिनेट र २४ सकेन्ड समय लगाइन् । स्टेन हेजलवर्ग र सोफी स्टाइनर दोस्रो र तेस्रो स्थानमा रहे ।

त्यसैगरी, १० किलोमिटर दौडमा पुरुषतर्फ सलमान शेख (१ः१८.४८ सकेन्ड) पहिलो, पेम्बा छिरिङ लामा (१ः२२.५२ सकेन्ड) दोस्रो र पुस्कर धामी (१ः३१.२२ सकेन्ड) तेस्रो भए । महिलातर्फ सितु लामा (१ः४०.३५ सकेन्ड), क्लारा बर्गगारेन (१ः४६.४९ सकेन्ड) दोस्रो र कामाल्या लि (२ः०१.२५ सकेन्ड) शीर्ष तीन स्थानमा रहेका थिए ।

त्यस्तै, २५ किमीको दौड गोदावरी, फुल्चोकी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा तथा १० किलोमिटर दौड गोदावरी, मनकामना दोबाटो र बदीखेल भएर गोदावरीमा सुर्यचौरमा सम्पन्न भएको थियो । प्रतियोगितामा नेपालसहित बेलायत, अमेरिका, फ्रान्स, जापान, भारत, क्यानाडाका करीब १ सयजना धावकधाविकाले सहभागिता जनाएका थिए । विजेताहरुलाई नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार प्रदान गरे ।