२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


संसदीय सुनुवाइ समितिको सभापतिमा कर्ण निर्विरोध


0
Shares

काठमाडौं, असोज ७ । संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा सांसद निरादेवी जैरु निर्विरोध निर्वाचित भएकी छन् ।

समितिको आइतबारको बैठकमा सांसद गणेशसिंह ठगुन्नाले सभापतिमा जैरुको नाम प्रस्ताव गरेका थिए । प्रस्तावलाई सांसद प्रभु साहले समर्थन गरेका थिए ।

बैठकको अध्यक्षता गरेका सांसद राधेश्याम अधिकारीले समितिको सभापतिमा जैरु निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

नवनिर्वाचित सभापति जैरुले निर्विरोध निर्वाचित गर्न सहयोग गर्ने सांसदलाई धन्यवाद दिँदै समितिको जिम्मेवारी निर्वाह गर्न पनि सबैको साथ पाउने विश्वास व्यक्त गरिन् ।

संघीय संसद संयुक्त बैठक र संयुक्तसमिति (कार्य सन्चालन) नियमावली २०७५ अनुसार समितिमा १५ सदस्य रहने व्यवस्था छ ।

प्रतिधिसभाबाट १२ र राष्ट्रियसभाबाट तीन सदस्यले समितिमा प्रतिनिधित्व गर्ने प्रावधान रहेको संसद सचिवालय कानुन महाशाखा प्रमुख सहसचिव अर्जुनकुमार खड्काले बताए ।

हाल समितिमा प्रतिनिधिसभाबाट ११ र राष्ट्रियसभाबाट तीन गरी १४ सांसद रहेका छन् ।

संसदीय सुनुवाइ समितिमा कर्ण निर्विरोध

संसदीय सुनुवाइ समितिमा भने ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्ण निर्विरोध निर्वाचित भएका छन् ।

समितिको आइतबारको बैठकमा सांसद अमृता थापाले उनको नाम प्रस्ताव गरेकी थिइन् ।

सांसद योगश भट्टराई, शिवकुमार मण्डल र निरुदेवी पालले सो प्रस्तावको समर्थन गरेका थिए ।

नवनिर्वाचित सभापति कर्णले समितिलाई साझा बनाउने प्रतिबद्धता जनाए । रासस