Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


राप्रपाको केन्द्रीय समिति बैठक आज पनि बस्दै


52
Shares

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक शुक्रबार पनि बस्ने भएको छ।

बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा शुरु भएको बैठकमा सदस्यहरूको बोल्ने क्रम जारी रहेपछि बैठक शुक्रबारसम्म सञ्चालन हुन लागेको हो। बिहीबारसम्म ७१ जनाले आफ्नो धारणा राखेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयाे। बैठकमा सहभागी नेताहरूले मुलुकको पार्टीको आन्तरिक जीवन, मुलुकको शासकीय स्वरुप, आगामी निर्वाचन र जेनजी आन्दोलनको भावना लगायतका विषयमा आफ्नो धारणा राखिरहेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुने गरी बैठकका एजेण्डा प्रस्ताव गरेपछि अधिकांश केन्द्रीय सदस्यले यसमा असहमति जनाएको बताइएको छ।

राज-संस्थासहितको लोकतन्त्रको वकालत गरिरहेको राप्रपाले प्रत्यक्ष निर्वाचनबाट चुनिने कार्यकारी एजेण्डामा जान नहुने अधिकांश सदस्यको मत सुनिएको छ। यसअघि २ दिनका लागि तय गरिएको बैठक तेस्रो दिन शुक्रबार सम्पन्न गर्ने तयारी भएकाे राप्रपाले जनाएकाे हाे।