Logo २५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025


पूर्वराष्ट्रपति भण्डारीले गरिन् आगजनी भएकाे संसद भवनको अवलोकन


78
Shares

काठमाडाैं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गर्नुभएको छ।

गत भदाैमा जेनजी आन्दोलनका क्रममा आगजनी र तोड्फोड भएको संसद भवनको क्षतिकाे अवस्था बारेमा जानकारी लिन पूर्वराष्ट्रपति भण्डारी स्वयं बिहीबार भवन परिसरमा पुग्नुभएको हो। अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको मुख्य गेट, सभाहल र बैठक कक्ष लगायतका क्षेत्रमा भएको तोड्फोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गर्नुभयो। उहाँले क्षतिग्रस्त संरचना तथा सामग्रीहरू नजिकबाट हेर्नुभएको थियो।

संसद सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोड्फोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाकाे बारेमा ब्रिफिङ गरेका थिए। जेनजी आन्दोलनका नाममा भएको उक्त तोड्फोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो। संसद भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो। पूर्वराष्ट्रपति भण्डारीले संसद भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिनुभएको छैन।

यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको अवलोकन गर्नुभएको थियो।