Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


कम्युनिष्ट सत्तामा पुग्न जोसँग पनि मिल्न थालेः सचिव विष्ट


104
Shares

काठमाडाैं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्तामा पुग्नका लागि मिल्ने प्रवृत्ति पार्टीमा देखापरेको बताउनुभएको छ।

एमाले ११ औं महाधिवेशन सन्दर्भमा बुधबार आयोजित अन्तरसंवाद कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले न्यूनतम विचार, कार्यक्रम र सिद्धान्त समेत नमिल्ने शक्तिहरुसँग मिलेर पनि एमालेले सरकार बनाएको बताउनुभयो । १० औं महाधिवेशनको ‘दक्षिणपन्थी अवसरवाद र सांगठानिक अराजकतलाई परास्त गरौं, जबजको मार्ग निर्देशनमा समाजवादको आधार तयार गरौं’ भन्ने नारा विपरित कार्यहरु भएको उहाँको भनाइ छ।

२०७९ सालको निर्वाचनमा संवैधानिक राजसंस्था बोकेर हिँड्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग निर्वाचनको लागि गठबन्धन गरेर अवसरवादलाई अंगालो हालेको उहाँले बताउनुभयो। सरकार निर्माणमा पनि न्यूनतम सहमतिको आधार, कार्यक्रम, वैचारिक निकटतालाई समेत ध्यानमा नराखी राप्रपा, नेपाली कांग्रेस, नेकपा माओवादी, मधेशवादी, रास्वपा सबैसँग मिलेर बनाएको उहाँले उल्लेख गर्नुभयो ।

सरकारमा जानको लागि जो कसैसँग मिल्ने प्रकारका प्रवृत्तिहरु कम्युनिष्ट आन्दोलनमा देखापरेको उहाँको भनाइ छ। उहाँले यसलाई दक्षिणपन्थी अवसरवादको एउटा भद्दा उदाहरण भएको टिप्पणी गर्नुभयो।

सचिव विष्टले संगठनात्मक क्षेत्रलाई पनि ध्वस्त बनाएको आरोप लगाउनुभयो । प्रदेश कमिटीहरु १३ सयसम्म राखेर भद्दा बनाइएको उहाँले बताउनुभयाे। विधानका व्यवस्थलाई ठिक ढंगले पालना गर्न नसकेको उहाँकाे भनाइ छ।