Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


कांग्रेसको रिटले राजनीतिमा तरंग (भिडियाे रिपोर्ट)

फेरी देउवा-ओलीबीच नयाँ गठबन्धन हुने आशंका !

0
Shares

काठमाडाैं। नेपाली कांग्रेस पनि विघटित प्रतिनिधिसभाको पुन:स्थापना र आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनका गतिविधि रोक्न माग गर्दै सर्वोच्च अदालतमा पुगेको छ।

पार्टी केन्द्रीय समिति बैठकबाट निर्वाचनमा जाने निर्णय गरेको कांग्रेस पार्टीभित्रको आन्तरिक विवादकाबीच पुनःस्थापनाको मुद्दा लिएर सर्वोच्चमा गएको हो। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेट भएपछि कांग्रेसको एउटा पक्ष सर्वोच्च गएको छ। देउवा पक्षले ओली -देउवा भेट र रिट संयोग मात्रै भएको दावी गरेता पनि ओली र देउवा फेरि नयाँ गठजोडमा लागेका त हैनन् भन्ने आशंका आम रुपमा गरिएको छ।

शुरुमै प्रतिनिधिसभा पुन:स्थापनाको निर्णय गरेर पनि एमालेले रिट लिएर सर्वोच्चमा जान एमालेले लामो समय कांग्रेसलार्य कुरेकाे थियाे। तर कांग्रेस केन्द्रीय समितिले प्रतिनिधिसभाको विघटनलाई असंवैधानिक त भन्यो तर पुन:स्थपनाको सट्टा निर्वाचनमै जाने निर्णय गरेकाे थियाे । कांग्रेसको निर्णयपछि एमालेले यहि मंसिर ९ गते एक्लै सर्वोच्चमा रिट दायर गर्यो । जब गत शुक्रबार एमाले अध्यक्ष ओली र कांग्रेसका सभापति देउवाकाबीच भेटघाट भयो ।

त्यसपछि विघटित प्रतिनिधिसभामा ८ जना कांग्रेस सांसदले पूर्वमहान्यायाधीवक्ता खम्मबहादुर खाती मार्फत सर्वोच्चमा रिट पुराए। जेनजी आन्दोलन अगाडि सत्ता सहकार्यमा रहेका र आन्दोलनले विस्थापति गरेपछि पहिलो पटक भएको ओली–देउवा भेटलाई राजनीतिक विषयमा केन्द्रित त भनिएको छ।तर त्यसपछि नै रिट लिएर अदालत जाने विषयले ओली र देउवाकाबीचमा पुनःसहकार्यको प्रयास शुरु गर्न खोजेको रुपमा अर्थ्याउन थालिएको हाे। यद्यपी कांग्रेसले भने रिट दर्ता पार्टीको आधिकारिक निर्णयबाट नभएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाे दावी छ।

डेढ महिना चलेको पार्टीको केन्द्रीय समितिले नलिएको निर्णयमा ८ सांसद मात्रै कसरी अदालत पुगे त भन्ने विषयले कांग्रेसभित्र एउटा पक्ष समेत संशयमा देखिन्छ। महामन्त्री गगन थापा र नेता शेखर कोइराला लगायतका नेताहरुले यसलाई पार्टीको निर्णय विपरित भनेर प्रतिक्रिया दिइसकेका छन् । तर रिट दर्ता गर्ने सांसदहरुले भने पार्टीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर निर्णय गरिसकेकाले संवैधानिक उपचारको बाटो अदालत हो भनेर रिट लिएर गएको निर्वतमान सांसद शान्ति बिकले बताउनुभयाे।

कांग्रेस सांसदहरुले जेजे तर्क गरेपनि नपाली कांग्रेसभित्र र उता नेकपा एमालेका नेताहरुले समेत दुई नेताका वीचमा भएको छलफल पछि नै कांग्रेस यो निर्णयमा पुगेको दावी गरिरहेका छन् । कांग्रेस प्रवक्ता महत समेत ओलीसँगको भेटपछि रिट लगेको कुरालाई स्वीकार गर्नुभएकाे छन् । तर पार्टीको निर्णय विना किन गए त भन्दा त्यसको स्पष्ट जवाफ पनि उहाँले दिनसक्नुभए।काे छैन।

संस्थापन पक्षबाट आएका अस्पष्ट जवाफले पनि देउवा र ओलीकबीचमा भएको छलफल पछि यो निर्णयमा पुगेको हो भन्नलाई संकोच मान्नुपर्ने देखिंदैन। जसले कांग्रेस र एमाले जेनजी आन्दोलन अघिकै सहकार्यको अभ्यासमा लागेका त होइनन् भन्नेसम्मको आंशका पनि उब्जिएको छ।

भिडियाे रिपोर्ट: