Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


तुरतुरेको पहिरो निरीक्षण, तत्काल ताल फुटाउँदा क्षति पुग्नसक्ने सेनाको निष्कर्ष


0
Shares

बागलुङ, असोज ७ । गन्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले बडिगाड खोला थुन्ने गरी गत भदौ २९ गते तुरतुरेमा गएको पहिरो निरीक्षण गरेका छन् ।

उनले बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमामा गएको सो पहिरो नियन्त्रण, ताल व्यवस्थापन र अवरुद्ध मध्यपहाडी पुष्पलाल लोकमार्ग चालू गर्न प्रदेश सरकारले पहल र समन्वय गर्ने बताए ।

प्राविधिक विषय भएकाले विज्ञको सुझावअनुसार अघि बढ्ने उनले बताए । नेपाली सेना र सडक विभागले पहिरोको स्थिति अध्ययन गरिरहेकाले छिट्टै समाधान निस्कने उनको भनाइ थियो ।

मध्यरातमा गएको पहिरोले बडिगाड खोला थुनिँदा करिब एक किमि क्षेत्रमा कृत्रिम ताल बनेको छ । तत्काललाई जोखिम टरे पनि स्थानीयवासीमा भने त्रास कायमै छ ।

ताल भरिएर माथिबाट खोला बगेपछि ताल फुट्छ कि भन्ने चिन्ता छ । ताल पहिरो गएको ठाउँ तुरतुरेदेखि, सिमलचौर हुँदै ढोरपाटन नगरपालिकाको खल्टुबोटसम्म फैलिएको छ ।

नेपाली सेना र सडक विभागको विज्ञ समूहले पहिरो र तालको प्राविधिक अध्ययन गरिसकेको छ ।

शनिबार पुगेको नेपाली सेनाको प्राविधिक टोलीले तत्काल ताल फुटाउँदा तल्लो तटीय क्षेत्रका बस्तीमा क्षति पुग्नसक्ने निष्कर्ष निकालेको छ ।

प्राविधिक अध्ययन प्रतिवेदन मन्त्रालयमा बुझाइने र निर्देशनअनुसार अघि बढ्ने नेपाली सेनाले जनाएको छ ।

बडिगाड थुनिएपछि पश्चिम बागलुङ र गुल्मी जिल्लाका तटीय बस्तीमा त्रास छाएको थियो । बागलुङको सिमलचौरका केही घरगोठसमेत डुबानमा परेका थिए ।

सोही पहिरोका कारण अवरुद्ध बनेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्ग निर्माणकर्ताले उक्त मार्ग चालू गर्न अझै केही समय लाग्ने जनाएको छ ।

पहिरोका कारण पश्चिम बागलुङका तीन स्थानीय तहमा राष्ट्रिय सडक सञ्जाल टुटेको छ । पहिरो गएको ठाउँमा मानिस जोखिम मोलेर पैदल हिँडन् बाध्य छन् ।

स्थानीय तहले लोकमार्ग नखुल्दासम्म वैकल्पिक सडक सन्चालनको तयारी गरेका छन् ।

पहिरो गएको तुरतुरे क्षेत्रमा हिँडडुल नगर्न स्थानीय प्रशासनले सर्वसाधारणलाई सचेत गराएको छ । रासस