काठमाडौं, असोज ७ । निर्वाचन लोकतान्त्रिक पद्धतिको प्रमुख विशेषता भएकोले यसको प्रभावकारिता र चुनौती पुनरावलोकन गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागीहरुले निर्वाचन प्रक्रियालाई विश्वसनीय बनाउन सुधारको खाँचो औंल्याएका हुन् ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पछिल्लो समय सम्पन्न निर्वाचनमा जनताको सहभागिता उत्साहजनक देखिए पनि चुनौतीपूर्ण भने रहेको बताए । नेपालमा निर्वाचन प्रणाली आधुनिक र अग्रगामी मान्यतातर्फ अग्रसर हुँदै गइरहेको बताउँदै उनले निर्वाचन आचारसंहिता पालना गर्नेतर्फ भने दलहरुमा अझै इमान्दारिताको अभाव रहेको उल्लेख गरे ।
नियोगका उपाध्यक्ष प्राध्यापक कपिल श्रेष्ठले सरकारले निर्वाचनको मिति तय गर्दा कहिल्यै पनि आयोगसित सल्लाह र छलफल गरेको नदेखिएको बताए ।
उनले सरकारले निर्वाचनको बेला आयोगलाई बेवास्ता गर्दै महत्वपूर्ण नियुक्ति र नीतिगत निर्णय गर्ने गरेको बताउँदै सुधारको आवश्कतामा जोड दिए ।
कार्यक्रममा सहभागी निर्वाचन पर्यवेक्षकहरुले निर्वाचनमा हुने अनैतिक र गलत क्रियाकलापको भने क्रमशः कमी आएको बताए । उनीहरुले सही तरिकाले निर्वाचन गर्न नसकिए परिणाम घातक हुनसक्ने भएकोले सरकार, उम्मेदवार र निर्वाचन आयोग सवै पक्ष जनउत्तरदायी हुन आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्