Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


पोखरा विमानस्थल प्रकरण: ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५४ जनाविरूद्ध मुद्दा दायर हुँदै


2k
Shares

काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा ५४ जना व्यक्ति र एक कम्पनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गर्न लागेकाे छ।

अख्तियारले आइतबार विशेष अदालतमा ५४ जनाविरुद्ध मुद्दा लिएर गएको हो। मुद्दा लगिएकाहरुमा ५ जना पूर्वमन्त्री र १० जना पूर्वसचिव समेत रहेका छन् । भ्रष्टाचार मुद्दा लगिएकाहरुमा पूर्वमन्त्रीहरु डा. रामशरण महत, भीम आचार्य, रामकुमार श्रेष्ठ, दीपकचन्द्र अमात्य र स्वर्गीय पोष्टबहादुर बोगटी रहेका छन्। उनीहरु मध्ये डा. महत पूर्वअर्थमन्त्री हुनुहुन्छ भने अरु सबै पूर्वपर्यटन मन्त्री हुन् । त्यसैगरी नेकपा माओवादी केन्द्रका नेता समेत रहेका बोगटीको निधन भइसकेकाले उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ। अख्तियारले उनीहरुबाट ८ अर्ब रुपैयाँ बराबरको विगो माग दावी गर्दै मुद्दा दायर गराउन लागेको हो।

त्यस्तै , भ्रष्टाचार मुद्दा लगिएका पूर्वसचिवहरुमा सुरेशमान श्रेष्ठ, सुशील घिमिरे, मधु मरासिनी, सूर्य आचार्य, सुरेश आचार्य, सुमन शर्मा र भेषराज शर्मा लगायत रहेका छन् । त्यसैगरी नागरिक उड्डयन प्राधिकरणका निलम्बित महानिर्देशक प्रदीप अधिकारी, पूर्वमहानिर्देशहरु रतिसचन्द्र चन्द्र लाल, सुमन श्रेष्ठ तथा प्राधिकरणका बहालवाला कर्मचारीहरु प्रतापबाबु तिवारी, बाबुराम पौडेलविरुद्ध पनि मुद्दा लगिएको छ।

विमानस्थल निर्माणको ठेकेदार चिनियाँ कम्पनीविरुद्ध पनि मुद्दा लगिएको छ। विशेष अदालतमा मुद्दा दर्ताका लागि रुजु गर्ने काम भइरहेको अदालत स्रोतले जनाएको हाे।