Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


सर्वपक्षीय बैठकः आगामी निर्वाचनमा केन्द्रित हुन सरकारसँग राजनीतिक दलको आग्रह

सरकारले निर्वाचनको वातावरण निर्माण गरे भाग लिन सबै दल तयार

637
Shares

काठमाडाैं। राजनीतिक दलहरुले सरकारलाई आगामी निर्वाचनमा केन्द्रित हुन आग्रह गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार साँझ प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठकमा दलहरुले मुलुकलाई विषम राजनीतिक अवस्थाबाट सामान्य परिस्थितिमा ल्याउन निर्वाचनको वातावरण निर्माणमा केन्द्रित हुन सरकारलाई आग्रह गरेको नेपाली कम्युनिष्ट पार्टीका नेता प्रकाश ज्वालाले जानकारी दिनुभएकाे हाे। उहाँका अनुसार बैठकमा सुरक्षा निकायहरुले सुरक्षा निकायहरुले सुरक्षाको स्थिति तथा निर्वाचन आयोगले निर्वाचनको तयारीका बारेमा ब्रिफिङ गरेका थिए । शान्ति सुरक्षाको वातावरण बनिनसकेको कारण विशेष रणनीतिका साथ यसमा काम गर्नुपर्ने सुझाव दलहरुले दिएको नेता ज्वालाको भनाइ छ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमले संविधानको संरक्षण र समाजमा विधिको शासन स्थापित गर्न निर्वाचन अपरिहार्य आवश्यकता भएको कुरा राजनीतिक दलहरुले बैठकमा राखेको बताउनुभयो। उहाँले घोषित मितिमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता सरकारको तर्फबाट आएको पनि बताउनुभएकाे छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समयमै निर्वाचन सम्पन्न गर्ने कुरामा राजनीतिक दल र सरकार प्रतिबद्ध भएर लाग्ने कुरा बैठकमा भएको बताउनुभयो। सरकारले निर्वाचनको वातावरण निर्माण गरे निर्वाचनमा भाग लिन सबै दलहरु तयार रहेको दलहरुको तर्फबाट धारणा आएको उहाँको भनाइ छ।

बैठकमा राजनीतिक दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, निर्वाचन आयोगका प्रतिनिधि र सरकारको तर्फबाट प्रधानमन्त्री कार्कीसँगै केही मन्त्रीहरु समेत सहभागी भएका थिए।