Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


राजा, राजनीतिक दल र जेनजीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः प्रवक्ता शाही

नेपालमा प्रदेश संरचना खारेज गर्नुपर्नेमा जाेड

273
Shares

काठमाडाैं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाहीले नेपालमा संवैधानिक राजसंस्था जरुरी रहेको बताउनुभएको छ।

काठमाडाैंमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता शाहीले नेपालमा प्रदेश संरचना खारेज गर्न, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य बनाउन, संवैधानिक राजसंस्था कायम गर्न र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका लागि आफूहरुले आन्दोलन गर्न लागेको बताउनुभएको हो। उहाँले जापान, बेलायत, नेदरल्याण्ड, अष्ट्रेलियाको जस्तो र क्यानडाको जस्तो राजसंस्था नेपालमा आवश्यक रहेको बताउनुभयो।

राष्ट्रपतिको ठाउँमा संवैधानिक राजसंस्था, जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचना खारेज, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैरदलीय र भ्रष्टाचारीलाई आजीवन कारावास गर्नुपर्ने समेत प्रवक्ता शाहीले माग गर्नुभएकाे छ। जेनजी हत्यारालाई पक्राउ गरेर कारावासको सजाय दिनुपर्ने माग समेत गर्नुभयो। जेनजी युवाहरुले सडकमा युद्ध जिते पनि सम्झौतामा हारेको उहाँको भनाइ छ।

प्रवक्ता शाहीले देशको संविधान, कानून र ऐनमा कतै न कतै खराब रहेको बताउनुभयो। राजा, जेनजी र राजनीतिक दलहरुले त्रिपक्षीय सम्झौता गर्न उहाँले आह्वान गर्नुभयो। उहाँले माग पूरा नभए सडक आन्दोलन शुरु हुने चेतावनी दिनुभएकाे छ। २३ गतेको प्रदर्शनमा घर-घरबाट उपस्थित हुन आह्वान गर्नुभयो।