Logo १८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025


एमालेले महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने


195
Shares

काठमाडौं। नेकपा एमालेले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया छिटो छरितो बनाउन यस पटक पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने बताउनुभएकाे हाे। एमालेले यसअघि चितवनमा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनमा पनि विद्युतीय भोटिङ मेसिन प्रयोग गरेको थियो। उहाँले भन्नुभयाे,-‘हामीले नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने निर्णय गरेका छौं। टेण्डर आव्हान भइसकेको छ । चाँडै नै कुन कम्पनीले गर्ने भन्ने निर्णय हुन्छ ।’

महाधिवेशनले यस पटक एमालेमा १५ पदाधिकारीसहित २ सय ५१ जना केन्द्रीय कमिटी चयन गर्ने छ। गत भदौमा सम्पन्न दोस्रो विधान महाधिवेशनले पारित विधान संशोधन प्रस्ताव केन्द्रीय कमिटी संख्या घटाएको थियो। एमाले महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुने भएका छन् ।

एमाले महाधिवेशन यहि मंसिर २७ देखि २९ गतेसम्म काठमाडौं र भक्तपुरमा हुने भएकाे हाे। महाधिवेशनको बन्दसत्र भने काठमाडौंकाे भृकुटीमण्डपमा हुने एमालेले जनाएकाे छ।