Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


विगतका कमजोरीलाई सच्याउँदै अब अघि बढ्छौँ : पुष्पकमल दाहाल


286
Shares

काठमाडौं ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका विगतका कमजोरीलाई सच्याउँदै जनताको चाहना र अपेक्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शनिवार दाङको लमहीमा आयोजित पार्टी एकता सन्देश तथा आत्मालोचना सभा’ लाई सम्बोधन गर्दै प्रचण्डले १५ वटा कम्युनिस्ट घटकहरू मिलेर बनेको वर्तमान नेकपा केवल चुनाव जित्ने उद्देश्यले नभई राष्ट्र र जनताको रक्षा गर्ने ऐतिहासिक सङ्कल्पका साथ गठन भएको स्पष्ट पारे ।

उनले संविधानसभाबाट संविधान जारी गरेको लामो सङ्घर्ष र बलिदानको उपलब्धि भए पनि जनअपेक्षाअनुरूप परिणाम दिन नसकेको स्वीकार गरे । हामीले राष्ट्र र जनताको पक्षमा पटक-पटक प्रयास गर्‍यौँ, तर अपेक्षित नतिजा हासिल गर्न सकेनौँ । कहाँ कमी भयो, कहाँ त्रुटि भयो भनेर हामी बिस्तारै समीक्षा गर्दै छौँ,’ प्रचण्डले भने । उनले सभालाई “आत्मालोचना सभा” र “नयाँ सङ्कल्प सभा” को संज्ञा दिँदै विगतका गल्ती दोहोरिन नदिने दृढता व्यक्त गरे ।

पछिल्लो समयको युवा आन्दोलनले पुरानो पुस्ताका नेतालाई गम्भीर रूपमा झकझक्याएको उल्लेख गर्दै प्रचण्डले भने, नयाँ पुस्ताको यो आन्दोलनले हामी सबैलाई घच्घच्यायो । यसले हामीमा थप गम्भीर आत्मसमीक्षा र आफूलाई बदल्ने आवश्यकता महसुस गरायो । युवाहरूको भावना र जनताको चाहनाअनुसार काम गर्न हामी बदलिनुको अब विकल्प छैन ।’

मजदुर, किसान, दलित, महिला, मुस्लिम, थारु लगायत उत्पीडित समुदायको हकहितका लागि नयाँ ढङ्गले सङ्घर्ष गर्ने उद्घोष गर्दै उनले सुशासन, आर्थिक समृद्धि र रोजगारी सिर्जनामा ठोस परिणाम दिन नसकेकोमा आत्मालोचना गरे ।