Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


एसीसी प्रिमियर कप: सेमिफाइनलमा नेपाल मलेसियासँग खेल्दै


650
Shares

काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपाल आज मलेसियासँग भिड्दैछ।
अजमान मैदानमा आयोजना हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ। नेपाल समूह ‘ए’ र मलेसिया समूह ‘डी’ का विजेता बनेपछि दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका हुन्।

समूह चरणका दुबै खेल जित्दै नेपालले सहजै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। पहिलो खेलमा उसले साउदी अरेबियालाई आठ विकेटले पराजित गर्‍यो भने दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो।

चौध टोली सहभागी प्रतियोगिताबाट आगामी एसीसी यू–१९ एसिया कपका लागि तीन टोली छनोट हुनेछन्। फाइनलमा पुग्ने दुवै टोली सिधै एसिया कपमा प्रवेश पाउनेछन्। त्यससँगै तेस्रो स्थानका लागि हुने खेलको विजेता टोलीले पनि एसिया कपको टिकट हात पार्नेछ।

युवा क्रिकेटरसहितको एसीसी यू–१९ एसिया कप आगामी डिसेम्बरमा यूएईमै आयोजना हुने तय छ।