Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


विनय कसजू प्रतिष्ठानद्वारा छ जना सम्मानित


13
Shares

काठमाडाैं ।

विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता तथा महिला सशक्तीकरण क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने ६ व्यक्तिलाई विभिन्न पुरस्कार तथा सम्मान प्रदान गरेको छ।

प्रतिष्ठानले स्थापना गरेको ग्रामीण पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार गोविन्द भट्टराईलाई, रेडियो पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासङ्घ पाल्पाका पूर्वअध्यक्ष राजेशकुमार अर्याललाई र साहित्य पुरस्कार साहित्यकर्मी नीलकण्ठ न्यौपानेलाई प्रदान गरियो।

त्यसैगरी, विनय कसजू बाल साहित्य सम्मान शान्तदास मानन्धरलाई, महिला सशक्तीकरण सम्मान सुशीला श्रेष्ठलाई र पाल्पाको समकालीन पत्रकारिता सम्मान झपेन्द्र गहिरेलाई प्रदान गरिएको छ।

प्रतिष्ठानका अध्यक्ष गंगा कसजूले दिवङ्गत विनय कसजूलाई स्मरण गर्दै सम्मानित एवं पुरस्कृत व्यक्तिहरूलाई बधाई व्यक्त गरिन्।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले कसजूलाई सूचनाको हकका अभियन्ता, वरिष्ठ पत्रकार, साहित्यकार र पर्यटनविद्का रूपमा देशका लागि बहुमूल्य योगदान गर्ने व्यक्तित्वका रूपमा सम्झिए।

विशिष्ट अतिथि तानसेन नगर प्रमुख सन्तोषलाल श्रेष्ठले राष्ट्रिय व्यक्तित्व विनय कसजूको सम्मानमा नगरपालिकाले आवश्यक निर्णय गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा कसजूका समकालीन तथा सहकर्मी हेमबहादुर बिष्ट, प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्य, विजय सागर, बुद्धिप्रसाद शर्मा, कमल मलेगो, सोमनाथ अर्याललगायतले उनको योगदानका विभिन्न पक्ष स्मरण गरेका थिए।