Logo १० मंसिर २०८२, बुधबार | Wed Nov 26 2025


नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत: नेता वाग्ले


0
Shares

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले नेपालमा केही भएको छैन भन्ने भाष्य निर्माण गर्नु गलत हुने बताउनुभएको छ।

काठमाडाैंमा बुधबार राष्ट्रिय युवा परिषदले आयोजना गरेको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो। उहाँले २०४८ सालपछिको निर्वाचित सरकारले लिएको आर्थिक नीतिका कारण नेपालमा धेरै परिवर्तन भएको बताउनुभयो । यसलाई सबैले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ। उहाँका अनुसार २०४८ सालको सरकारद्वारा शुरु गरिएको आर्थिक सुधारले नेपाललाई ७ प्रतिशतको औसत आर्थिक वृद्धिदरमा उकासेको थियो । यदि त्यसलाई निरन्तरता दिइएको भए हाल नेपालको अर्थतन्त्र करिब १ सय अर्ब डलरको आकारमा पुग्ने उहाँले बताउनुभएकाे छ।

तर हाल ४५ अर्ब डलर बराबरको अर्थतन्त्र रहेको उहाँले बताउनुभयो। पछिल्लो डेढ दशकदेखि भने नेपालमा राजनीतिक-आर्थिक उथलपुथलको चक्रमा फसेको उहाँकाे भनाइ छ। त्यसको प्रतिविम्व भदौ २३-२४ का घटनाले पनि देखाएको उहाँको तर्क थियाे। जेनजी आन्दोलनले मुलुक नयाँ मोडमा पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार यो संक्रमणको सफल व्यवस्थापन हुन सकेमा देशले नयाँ आर्थिक-राजनीतिक मार्ग प्राप्त गर्नसक्छ । तर असफलता भए पुनः प्रतिगमनको जोखिम गम्भीर रूपमा बढ्ने उहाँले बताउनुभयो। यस चुनौतीपूर्ण अवस्थाबाट देशलाई निकाल्ने जिम्मेवारी नयाँ पुस्ताका राजनीतिक पात्र तथा नयाँ दलहरूले बहन गर्नुपर्नेमा उपसभापति वाग्लेले जोड दिनुभएकाे छ।

उपसभापति वाग्लेले आगामी निर्वाचनपछि नयाँ आउने नेतृत्वले देशमा आर्थिक विकासको लागि दर्जनौं कानूनमा सुधार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।