काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले देशमा उपलब्ध प्राकृतिक स्रोत–साधनको उचित उपयोग नहुँदा आर्थिक विकास अवरुद्ध भइरहेको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्ले बुधवार आयोजना गरेको कार्यक्रममा उहाँले वन जंगलबारे बनाइएका कडा कानूनका कारण देशले ठूलो आर्थिक सम्भावना गुमाइरहेको बताउनुभएको हो ।
उहाँकाअनुसार वन क्षेत्रलाई इकोलोजी संरक्षण’ को नाममा प्रयोग गर्न नदिँदा राज्यले ठूलो मात्रामा आयातमा निर्भरता बढाउनुपरेको छ । चीन र मलेसिया जस्ता देशबाट ४ खर्ब बराबरका काठका उत्पादनहरू नेपाल आयात गर्नुपरेको उहाँले बताउनुभयो ।
तर आफ्नै वनमा रहेको कच्चा पदार्थ भने कुहाएर फाल्नुपरेको उहाँको भनाई छ । वन व्यवस्थापनका वर्तमान कानून अत्यधिक प्रतिवन्धात्मक भएको भन्दै उहाँले पाँच वर्षमा एउटा रुख काट्न समेत कठिन हुने बताउनुभयो । वनको एउटा रुख काट्नु र मान्छे काट्नुमध्ये रुख काट्नु धेरै गाह्रो रहेको उहाँको टिप्पणी छ । यस्ता ऐन–कानूनका कारण देश विकास नहुने भन्दै उहाँले सबैकुरा परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ॅहामीसँग रिसोर्स के छैन, हाईड्रोको त कुरै छाड्दिनुस् । तपाई रिसोर्सजति बन्द गरेर राख्ने, वनको कुरा गर्नुस् त कति ठूलो रिसोर्स छ । वनलाई कुहाएर सिनोलाई खुवाएर इकोलोजी बढाउनेको नाममा रिसोर्सजति कुहाएर राखेको छ । चाईना र मलेसियाबाट ३/४ खरबको हामी काठको प्रोडक्टहरु आयात गर्छौं ।
वनलाई कुहाएर, त्यसलाई उत्पादन गरेर कसरीलाई देशको इकोनोमीमा कसरी कन्भर्ट गर्ने भन्ने कुरै छैन । आज एउटा वन काट्नु र मान्छे काट्नुमा वन काट्नुलाई धेरै गाह्रो भएको छ । पाँच वर्षमा एउटा रुख काट्न गाह्रो छ । यस्ता ऐन कानून राखेर देश विकास हुँदैन । सबै कुरा चेन्ज गर्नुपर्छ । आगामी दिनमा नयाँ लिडरसिपले यो सबै कुरा चेन्ज गर्छ, गर्नुपर्छ । यसलाई देश विकासमा लगाउनुपर्यो नी । सबै पैसा नै र्पसा छ । तपाई फूलबारी बोर्डरमा जानुस् ।
बंगलादेशले भुटानबाट ढुंगा र माटो ५०० ट्रक दिनको आयात गर्छ । हामी यहाँ ढुंगा माटो निकाल्न नै हुँदैन भनेर बसिरहेका छोँ । वातावरणलाई पनि हेरेर ढुंगा माटो मात्रै पनि बेच्नसक्यो भने कति राजमार्गमा ढुंगामाटोको आवश्यक छ, पैसा नै पैसा छ, यहाँ । रिसोर्स नै रिसोर्स छ । यो प्राकृतिक रिसोर्सको त कुरै छाड्दिनुस् । सबैभन्दा ठुलो कुरा हामीसँग ह्युमान रिसोर्स छ ।’ उहाँले आगामी दिनमा नयाँ नेतृत्वले यस्ता नीतिगत अवरोध हटाई स्रोत–साधनको दिगो उपयोगतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्