Logo १ पुस २०८२, मंगलबार | Tue Dec 16 2025


जेनजी युवाको भावना विपरीत चल्ने छुट प्रधानमन्त्री कार्कीलाई छैन: मिराज ढुंगाना

जेनजी युवालाई सिंहदरबार प्रवेशमा रोक

598
Shares

काठमाडौं। विभिन्न मागसहित प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउन पुगेका जेनजी अभियन्ता मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले सिंहदरबार प्रवेशमा रोक लगाएको छ।

प्रधानमन्त्री कार्यालयको अनुमतिबिना सिंहदरबार प्रवेश गर्न लागेका मिराजसहितका युवाहरूलाई मंगलबार प्रहरीले दक्षिण गेटमा रोकेर लखेटेको हो। आफूहरू जसरी पनि सिंहदरबार छिर्न पाउनुपर्ने भन्दै युवाहरूले प्रदर्शन गर्न खोजेपछि प्रहरीले लखेटेर हनुमानस्थान पुल कटाएको थियाे।

त्यसपछि उनीहरू हनुमानस्थाननजिक धर्नामा बसेका थिए। साेही क्रममा जेनजी अभियान्ता मिराजले प्रधानमन्त्री कार्कीसँग भेट्न पटक-पटक समय माग्दा पनि नपाएपछि आफूहरू जान खोजेको बताउनुभयाे।जेनजी युवाहरूको मागलाई बेवास्ता गर्दै सरकार निर्वाचनमा मात्रै केन्द्रित भएको बारेमा आफूहरूले प्रधानमन्त्री कार्कीलाई अवगत गराउन खोजेको उहाँकाे भनाइ छ।

युवाहरूलाई स्वदेशमै गरिखान दिने वातावरण बनाउनुपर्ने र यसका लागि स्थिर सरकार आवश्यक रहेको अभियान्ता मिराजले बताउनुभयाे। उहाँले प्रधानमन्त्रीलाई जेनजी युवाहरूको भावना विपरीत चल्ने छुट नभएको चेतावनी समेत दिनुभएकाे छ।

आगामी निर्वाचनमा सरकारले पुरानै राजनीतिक दलहरूलाई प्राथमिकता दिन खोजेको अभियान्ता मिराजकाे आराेप थियाे। यदि पुरानै दलहरू फेरि फर्किए आफूहरूको माग पूरा हुन नसक्नेतर्फ उहाँले सरकारलाई सचेत पनि गराउनुभएकाे छ।