Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


१८ सय बढी मेगावाट-आवर विद्युत भारतमा निर्यात


468
Shares

काठमाडाैं । नेपालले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा १ हजार ८ सय ५ मेगावाट-आवर विद्युत भारतमा निर्यात गरेको छ।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सोमबार बसेको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका उर्जासचिव चिरञ्जीवि चटौतले उक्त जानकारी दिनुभएको हो। उहाँका अनुसार विद्युत व्यापारतर्फ नेपालले पहिलो त्रैमासिकमा १ हजार ८ सय ५ मेगावाट-आवर विद्युत भारतमा निर्यात गरेको छ। मनसुन अवधिमा देशभित्र पर्याप्त उत्पादन हुने भएकाले आयात अत्यन्त न्यून रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म नेपालले जम्मा २ दशमलव ८ मेगावाट-आवर मात्र विद्युत आयात गरिएको छ । पहिलो त्रैमासिकमा ८६ मेगावाट विद्युत उत्पादन थपिएको सचिव चटौतले जानकारी दिनुभयो। उहाँले ६६ केभी तथा माथिल्लो भोल्टेजका ३६ किलोमिटर ट्रान्समिशन लाइन तथा ३३ केभीका १ सय ३१ किलोमिटर ट्रान्समिशन लाइन निर्माण सम्पन्न भएको छ। मन्त्रालयले उर्जातर्फ विनियोजित ६ अर्ब ३० करोड ८० लाख रुपैयाँ बजेटमध्ये १५ दशमलब १६ प्रतिशत खर्च गरेको हाे।

उर्जा क्षेत्रमा भएको ४२ अर्ब २ करोड ४३ लाख रुपैयाँ वित्तीय लगानीमध्ये हालसम्म ६ दशमलव ५४ प्रतिशत प्रगति देखिएको उर्जा सचिव चटौतले जानकारी दिनुभयो। उहाँले उर्जातर्फ बजेट रोकावटको कुनै समस्या नरहेको बताउनुभएकाे छ। बजेट रोकिएर उर्जा क्षेत्रका परियोजना प्रभावित नभएको उहाँको भनाइ थियाे।