काठमाडौं ।
सन् १९१२ मा टाइटानिक पानीजहाज दुर्घटनामा परी मृत्यु भएका एक यात्रीको शवबाट प्राप्त भएको सुनको पकेट घडी ऐतिहासिक मूल्यमा बिक्री भएको छ ।
लिलाम बढाबढमा विक्री भएको उक्त घडीका लागि १७ लाख ८० हजार स्टर्लिङ पाउन्ड अर्थात ३३ करोड २५ लाख २६ हजार रुपैयाँ तिरिएको हो ।
बेलायतको साउथह्याम्प्टनबाट अमेरिकाको न्युयोर्कतर्फ गइरहँदा टाइटनिक पानीजहाज बरफको चट्टानसँग ठोक्किएर दुर्घटना भएको थियो । उक्त दूर्घटनामा परी निधन भएका १५ सयजना मध्ये इसिडोर स्ट्रसको शवबाट १८ क्यारेट सुनबाट बनेको ‘जुल्स जुर्जेन्सेन’ पकेट घडी प्राप्त भएको थियो ।
दूर्घटना भएको केही दिनपछि एटलान्टिक महासागरमा स्ट्रसको शव भेटिएको थियो । तर, उनकी श्रीमती इदाको शव भने भेटिएको थिएन ।
स्ट्रसको परिवारको संरक्षणमा रहेको उक्त घडी शनिबार आयोजित ‘हेनरी अल्ड्रिज एन्ड सन अक्सनर्स’ लिलाम घरमा बिक्री भएको हो । स्ट्रस अमेरिकी व्यवसायी, राजनीतिज्ञ र न्यूयोर्कको मेसी डिपार्टमेन्ट स्टोरका सह–मालिक थिए ।





प्रतिक्रिया दिनुहोस्