Logo ८ मंसिर २०८२, सोमबार | Mon Nov 24 2025


भेडाको भेषमा स्पेन छिर्न खोज्दा तीन जना पक्राउ


0
Shares

अच्युतप्रसाद नेपाल

काठमाडौं ।

स्पेन प्रवेश गर्ने उद्देश्यले भेडा बनेर सीमा पार गर्न खोजिरहेका अल्जेरियाका तीन पुरुष पक्राउ परेका छन्।

शरीरमा कटन बेरेर, अनुहारमा रङ लगाएर भेडाजस्तै भेष बदलेका उनीहरू अन्य पशुहरूसँग मिसिन खोज्दै गर्दा प्रहरीको नजरमा परी पक्राउ परेका हुन् ।

भेडाको हिँडाइभन्दा फरक तरिकामा हिँडिरहेको देखेपछि प्रहरीले सवारी साधन रोकी जाँच गर्दा तीन पक्राउ परेका हुन्।

युरोप पुग्न मानिसहरूले अपनाइरहेका चरम उपायहरूमध्ये यो घटना सबैभन्दा अनौठो र हास्यास्पद मानिएको छ। स्मार्ट न्यूजको भिडियोमा प्रसारित यो समाचारले आफ्नो जन्मभूमिप्रतिको माया हुँदाहुँदै पनि परिस्थितिले कसरी मानिसहरूलाई घर छोड्न बाध्य बनाउँछ भन्ने दयनीय यथार्थ उजागर गरेको छ ।

गरीब मुलुकका नागरिकले यूरोपेली देशमा केही कमाई गर्ने आशामा निरन्तर जोखिमपूर्ण उपायहरू अपनाइरहेका छन्। भूगोल फरक भए पनि खान, लाउन र बाँच्न पाउने प्राकृतिक अधिकार हेर्ने जिम्मेवारी सरकारले पूरा नगर्दा उनीहरू परिवारको भविष्यका लागि जीवन जोखिमा राख्न बाध्य छन्।

नेपालबाट पनि धेरै नेपालीहरू ठूलो रकम खर्चेर विकसित देशहरूतर्फ जाने क्रम बढ्दो छ। कतिपय त बिचौलियाद्वारा ठगिएर बीचैमार्गबाट फर्कनुपरेको उदाहरण पनि प्रशस्तै छन्। त्यसैले सरकारले समयमै सचेत भई प्रत्येक नागरिकको बाँच्ने अधिकार सुनिश्चित गर्नुपर्छ भन्ने आवश्यकता झनै स्पष्ट हुँदै गएको छ।