एजेन्सी ।
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले मानवताविरुद्धका अपराधमा दोषी ठहर गरी मृत्युदण्ड सुनाएपछि उनको पार्टी अवामी लिगले आन्दोलनको घोषणा गरेको छ।
अवामी लिगले मंगलबार नोभेम्बर १८ का लागि देशव्यापी बन्द तथा नोभेम्बर १९ देखि २१ सम्म विरोध प्रदर्शन गर्ने तालिका सार्वजनिक गरेको हो।
अवामी लिगले अदालतको निर्णयलाई ‘दुर्भावनापूर्ण र प्रतिशोधप्रेरित’ भन्दै कठोर आलोचना गरेको छ। पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले ‘अवैध रूपमा सत्ता कब्जा गरी गैरकानूनी न्यायाधिकरण’ मार्फत हसिनालाई लक्षित गरेको आरोप लगाएको छ। विज्ञप्तिमा हसिनाविरुद्धको मुद्दालाई ‘ढोंग’ मात्र भएको दाबी गरिएको छ।
विद्यार्थी विद्रोहका क्रममा १,४०० जनाको ज्यान जाने गरी बल प्रयोग भएको घटनामा हसिना र तत्कालीन गृहमन्त्री असदुज्जमान खान कमललाई सोमबार मृत्युदण्ड सुनाइएको हो।
२०२४ अगस्ट ५ मा विद्रोह उग्रिएपछि हसिना १५ वर्षे शासन अन्त्य गर्दै हेलिकप्टरमार्फत भारत शरण लिन पुगेकी थिइन्। कमल पनि भारतमै रहेको बताइएको छ। फैसलापछि बंगलादेशले उनीहरूलाई फिर्ता पठाइदिन भारतसँग अनुरोध गरे पनि भारतले स्पष्ट प्रतिक्रिया नदिएको बताइएको छ।




प्रतिक्रिया दिनुहोस्