काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग भइरहँदा सामाजिक सुरक्षा चुनौती थप भएको बताउनुभएकाे छ।
अपराध अनुसन्धान विभागको ७० औं स्थापना दिवसका अवसरमा साेमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बाेल्दै उहाँले उहाँले यस्ताे बताउनुभएकाे हाे। सामाजिक सञ्जालको दुरुपयोग भएसँगै लागूऔषध दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, आत्महत्या, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराध र अन्तर्देशीय प्रकृतिका जटिल तथा संगठित अपराध सम्बन्धी अनुसन्धानका लागि क्षमता विकास तालिम आवश्यक रहेको उहाँले बताउनुभयाे।
उहाँले फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास एवम् पक्राउ परेकालाई प्राथमिकतामा राखी तत्काल नतिजा आउने गरी काम गर्न र विगतका आपराधिक गतिविधि तथा लामो समयसम्म पेन्डिङमा रहेका घटनाहरूलाई समेत प्राथमिकतामा राखेर प्रभावकारी अनुसन्धान गर्न निर्देशन दिनुभएकाे छ।
महानिरीक्षक कार्कीले निष्पक्ष, प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानले कानून विपरीत कार्य गर्नेलाई कानूनी दायरामा ल्याउन सहयोग पुर्याउने धारणा व्यक्त गर्दै पीडित पक्षलाई न्याय दिलाई समाजमा प्रहरीप्रतिको प्रतिष्ठा एवम् विश्वास अभिवृद्धि गर्न प्रहरी संयन्त्र अझ जिम्मेवार र क्रियाशील हुनुपर्नेमा जोड दिनुभयाे।
साेही कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले अपराध नियन्त्रण-अनुसन्धानको वर्तमान अवस्था, चुनौती र समाधानका उपाय लगायतका विषयमा धारणा व्यक्त गर्नुभएकाे छ।




प्रतिक्रिया दिनुहोस्