Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


पत्रकारितामा दलतन्त्र हावी भएकाेप्रति विज्ञकाे चिन्ता

पत्रकारिता क्षेत्रमा देखिएको संकट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउने

78
Shares

काठमाडाैं । विज्ञहरुले मुलुकको पत्रकारितामा दलतन्त्र हावी भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल पत्रका महासंघले काठमाडौंमा शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्य र वरिष्ठ पत्रकार किशोर नेपाल लगायतका वक्ताहरुले पत्रकारहरु आफैंले सामाजिक सञ्जाललाई मिडिया भनिदिँदा उनीहरुको बिगबिगी हुने अवस्था आएको धारणा समेत राखेका छन्। साेही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहनुभएका प्रमुख सूचना आयुक्त आचार्यले पत्रकारहरु आफैंले सामाजिक सञ्जाललाई सञ्चारमाध्यम हो भनिदिँदा पत्रकारिता क्षेत्र कमजोर भयो भन्ने टिप्पणी आउने गरेको बताउनुभयो ।

प्रमुख सूचना आयुक्त आचार्यले विद्यमान अवस्थामा पत्रकारिता क्षेत्रले पत्रकारिताको नाममा ल्याइएको विसंगतिको सामना गरिरहनु परेको बताउनुभयो । उहाँले पत्रकारिता क्षेत्रलाई कमजोर हुन नदिन पत्रकारहरु आफैं जिम्मेवार भएर अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे छ। वरिष्ठ पत्रकार नेपालले दलहरु हावी हुँदा नेपाल पत्रकार महासंघको नेतृत्व समेत उनीहरुले नै निर्वाचित गर्ने अवस्था आएको उल्लेख गर्नुभयो । दलले पत्रकार महासंघको नेतृत्व चयन गर्ने अवस्था आएकाले पत्रकारहरु अपहेलित हुने अवस्था पुगेको उहाँको निष्कर्ष थियो ।

साथै वरिष्ठ पत्रकार नेपालले मिडिया हाउसहरुलाई व्यापारको भाडा बन्न नदिने कुरामा पनि नेपालको मिडिया सचेत हुनुपर्ने बताउनुभएकाे छ। साेही कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले नेपालको पत्रकारिता क्षेत्रमा देखिएको संकट समाधानका लागि राष्ट्रिय बहसलाई अघि बढाउन लागिएको बताउनुभयो ।