Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


‘हतियार र अपराधि बाहिर हुँदा डरको वातावरण छ, सरकारले सुरक्षाको प्रत्याभूति देओस्’: राष्ट्रिय सभाका सांसद


104
Shares

काठमाडाैं। आगामी प्रतिनिधि सभाको निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न उचित वातावरण निर्माण गर्न सांसदहरुले गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

सिंहदरबारमा बिहीबार बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनीहरुले यस्तो ध्यानाकर्षण गराएका हुन् । तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सरकारसमक्ष रहेका चुनौतीहरुलाई औंल्याउदै उनीहरुले सरकारले दलहरुसँग समेत छलफल गरी रणनीतिका साथ काम गर्नुपर्ने धारणा राखेका छन् ।

बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका सांसद उदयबहादुर बोहराले मुलुकमा शान्ति–सुव्यवस्था कायम गर्दै तोकिएको मितिमा निर्वाचन सम्पन्न गरी निर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने अन्तरिम सरकारको मुख्य कार्यभार भएपनि सुरक्षा प्रबन्ध मुख्य चुनौती रहेको बताउनुभयो। उहाँले मतदान केन्द्रमा शान्ति–सुरक्षा कायम गर्न र राजनीतिक दलहबीच समन्वयका विषयमा गृह मन्त्रालय र सरकार दुवै सचेत रहन जरुरी रहेको धारणा राख्नुभएकाे छ। जेनजी आन्दोलनको क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हतियार फिर्ता ल्याउने सन्दर्भमा सरकारले दत्तचित्त भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यस्तै, एकीकृत समाजवादीकी सांसद राजेन्द्रलक्ष्मी गैरेले जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पतीमा भएको क्षतिको गम्भीर अनुसन्धान हुनुपर्ने माग गर्नुभयो। उहाँले आन्दोलनको क्रममा भएको लुटपाट र आगजनी विदेशी वा स्वदेशीको कसको इच्छाअनुसार भएको भनि अनुसन्धान गर्न जरुरी रहेको बताउनुभएकाे छ।

त्यसैगरी नेपाली कांग्रेसका सांसद किरणबाबु श्रेष्ठले गत भदौ २४ गतेको आन्दोलन नेपाललाई असफल राष्ट्र बनाउनको लागि भएको टिप्पणी गर्नुभयो । व्यवस्थापिका न्यायपालिका र कार्यपालिका तीनै क्षेत्रमा एकचोटी आक्रमण भएको उल्लेख गर्दै उहाँले यो राष्ट्रविरुद्धको गम्भीर षड्यन्त्र भएको टिप्पणी गर्नुभएकाे छ।

बैठकमा बोल्ने अधिकांश सांसदहरूले एकमत भएर निर्वाचन तोकिएको मितिमै सम्पन्न गर्नुपर्ने र त्यसका लागि शान्ति–सुरक्षा सुनिश्चित गर्न सरकार र गृह मन्त्रालयले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका छन्।