एजेन्सी। इक्वेडरको दक्षिणपश्चिमी सहर मचालास्थित जेलमा भएको हिंसात्मक दंगामा करिब ३१ जना कैदीको मृत्यु भएको छ।
आइतबार बिहान भएको सशस्त्र झडपमा ४ जनाको मृत्यु भएपछि आइतबार दिउँसो श्वासप्रश्वासमा समस्या भएर थप २७ कैदीको मृत्यु भएको अधिकारीहरूले बताएका हुन् । जेल प्रशासन एसएनएआईले एक विज्ञप्ति जारी गर्दै मचाला जेलभित्र मृत फेला परेकाहरू ‘आपसी संघर्षका क्रममा श्वासप्रश्वास अवरुद्ध भएर तुरुन्त मृत्यु भएका’ हुन् । साेही घटनाको कारण र विस्तृत विवरण स्पष्ट गर्न फरेन्सिक टोली अहिले पनि स्थलमै कार्यरत छ।
स्थानीय बासीन्दाहरूले जेलभित्रबाट गोली, विस्फोट र सहयोगका लागि कराएको आवाज सुनेका थिए । आइतबार बिहान ३ बजे (०८०० जिएमटी) तिर शुरु भएको हिंसा केही घण्टामै नियन्त्रणबाहिर पुगेको थियो ।एसएनएआईका अनुसार प्रारम्भिक भिडन्तमा ४ जनाको मृत्यु भएको र ३३ जना कैदीसहित एक प्रहरी अधिकारी घाइते भएका थिए। त्यसपछि विशेष प्रहरी टोलीले तुरुन्तै जेलमा प्रवेश गरी नियन्त्रण पुनःस्थापना गरेको बताइएको छ।
अधिकारीहरूले मृतकहरूको पहिचान अझै सार्वजनिक गरेका छैनन् । घटनाको कारण प्रतिस्पर्धी लागूऔषध तस्करी गिरोहबीचको अन्तरद्वन्द्व हुनसक्ने अनुमान गरिएको छ।




प्रतिक्रिया दिनुहोस्