२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


१०० वर्षमा राष्ट्रकविः ‘यो जीवनीको रस प्यून जानौं !’


0
Shares

प्रकाश सिलवाल (रासस)

काठमाडौं, असोज ६ ।

‘बुढेससम्मन् पनि ज्यून जानौं 

यो जीवनीको रस प्यून जानौं’ 

वरिपरि पहाडले घेरिएको लमजुङको पुस्तुन गाउँको छेउबाट अहिले पनि उस्तैगरी बगिरहेको छ, कन्चन मर्स्याङ्दी नदी ।

माधवप्रसाद घिमिरेले सानोबेलामा गाईवस्तु चराउने र प्रकृतिका छटाहरूसँगै रमाउने त्यो सुन्दर गाउँ अहिले मर्स्याङ्दी नगरपालिकामा परिणत भइ जलविद्युत्, सडक र अन्य विकासका पूर्वाधारहरू भने बनेका छन् । भौतिक विकास भएपनि प्राकृतिक बनावटमा खासै चोला फेरेको छैन पुस्तुनले ।

घिमिरेले विद्यालय पढेको जिल्लाको दुराडाँडा पनि उही लयमा छ । तर, ती गाउँमा हुर्केका कविवर घिमिरे प्रकृति र मानवीय संवेदनायुक्त सुललीत सिर्जनामार्फत् साहित्यिक जगत्का शिखर व्यक्तित्व बन्न सफल भएका छन् ।

राष्ट्रकवि घिमिरे पुस्तुन गाउँकोमात्र होइन, राष्ट्रकै साहित्यिक गहना भएकाले उनको कृतित्व र व्यक्तिलाई अन्तर्राष्ट्रियकरण गराउन यो वर्ष उनको जन्मशताब्दी वर्ष मनाउने तयारी भएको छ । घिमिरे आइतबार शताब्दी (१००) वर्षमा प्रवेश गर्दैछन् ।

बेलाबेलामा अस्वस्थ्य भएपनि उपचारपछि हाल उनी यो उमेरमा पनि साहित्यिक कर्ममा आफूलाई सामेल गराइरहेका छन् । यतिबेला उनी पछिल्लो महाकाव्य ‘ऋतम्भरा’लाई बिट मार्ने तयारीमा पनि छन् ।

राष्ट्रिकवि घिमिरेले वि.सं. २०७२ मा त्रिभुवन विश्वविद्यालयबाट महाविद्यावारिधि र २०७४ मा नेपाली सेनाबाट मानार्थ सहायक रथीको उपाधिलगायत विभिन्न राष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेका छन् ।

मर्स्याङ्दी वाड्यमय प्रतिष्ठानले यो वर्षभरि जन्मशताब्दी मनाउन उनको दम्पतीसहित रथारोहण र राष्ट्रियस्तरको अभिनन्दनलगायतका कार्यक्रम तय गरेको छ ।

यही असोज २१ गते काठमाडौंमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने सो कार्यक्रमका लागि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा. डा. वासुदेव त्रिपाठीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष डा. मुकुन्द पथिककाअनुसार राष्ट्रकविको जन्मशताब्दीका अवसरमा देशभरका विद्यालय र कलेजमा कविता प्रतियोगिता गरी पुरस्कृत गरिने तथा उनको जन्मस्थान पुस्तुन र लमजुङको सदरमुकाम बेसीसहरमा सांस्कृतिक कार्यक्रमसहित सम्मान गरिनेछ ।

राष्ट्रिकवि घिमिरेको नाममा हुलाक टिकट प्रकाशन, अभिनन्दन ग्रन्थ प्रकाशन, मातृभाषाबारे विचारगोष्ठी, कविता महोत्सव, वृत्तचित्र निर्माणका योजना पनि प्रतिष्ठानले अघि सारेको छ ।

राष्ट्रकवि घिमिरे प्रमुख संरक्षक रहेको प्रतिष्ठानले लमजुङ हिमाल हिमालचुलीलाई राष्ट्रकविको नाममा नामकरण गर्न, काठमाडौं वा लमजुङमा उनको प्रतिमा स्थापना गर्न पहल गरिरहेको छ ।

पृथ्वीराजमार्गको डुम्रेदेखि मनाङसम्मको सडकलाई राष्ट्रकविको नाममा नामाकरण गर्न पनि प्रतिष्ठानले नेपाल सरकारसँग माग गरेको छ ।

संस्थाले घिमिरेको जन्मस्थान लमजुङको भीरपुस्तुन, बाहुनडाँडामा राष्ट्रियस्तरको संग्रहालय निर्माणको योजना पनि अघि सारेको छ भने कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थान कास्कीको अर्चलेबाट आदिकवि भानुभक्तको जन्मस्थान तनहुँ, चुँदी हुँदै राष्ट्रकविको जन्मस्थान पुस्तुन, बाहुनडाँडासम्मलाई साहित्यिक पर्यटनकारूपमा विकास गराउने घोषणा गरेको छ ।

पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशंकर र माता द्रौपदीका कोखका जेठा सन्तान घिमिरेकी अर्धांगिनी महाकाली घिमिरे पनि यही असोज १२ गते ८४ वर्षमा प्रवेश गर्दैछिन् ।

कविवरको शताब्दी वर्ष र महाकालीको ८४ वर्ष प्रवेशको सुखद् अवसरमा उनको परिवारले आइतबार लैनचौरमा सहस्र चन्द्रर्शनसहित पारिवारिक र शुभेच्छुकसँगको जमघट कार्यक्रम तय गरिएको छ ।

घिमिरेको जेठी श्रीमती गौरीको वि.सं. २००४ मा निधनपछि उनले रचेको ‘गौरी’ शोककाव्य र अन्य दर्जनौं काव्य, गीतिनाटक, कथा, यात्रा संस्मरण र अनुवाद विधामा उनका कृतिहरू लोकप्रिय मानिन्छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकालीले ‘गौरी’ खन्डकाव्य हालै कोरियाली भाषामा अनुवाद भइ जन्मशताब्दीका अवसरमा उपहार हुन पुगेको बताउँदै कोरियाका पाठकहरूले उक्त खन्डकाव्य पढेपछि भावुक हुँदै प्रतिक्रिया दिन थालेको बताए ।

घिमिरेलाई नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटापछिका सर्वाधिक लोकप्रिय स्रष्टा मानिन्छ ।

उनका ‘नवमञ्जरी’, ‘घामपानी’, ‘नयाँ नेपाल’ र ‘किन्नरकिन्नरी’ आदि कवितासंग्रह प्रकाशित छन् ।

स्वच्छन्दतावादी र परिस्कारवादी भावधाराका कवि घिमिरेका ‘गाउँछ गीत नेपाली’जस्ता कैयौं राष्ट्रिय भावका गीत र कविताहरू जनजिब्रोमा झुन्डिएका छन् ।

‘नेपाली हामी रहौंला कहाँ नेपालै नरहे 

उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे…’