काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले यथार्थको नेपाल बनाउनका लागि मतदाता परिचय पत्र बनाउन आह्वान गर्नुभएको छ ।
शुक्रवार साँझ एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले योग्य व्यक्तिले मतदाता परिचय पत्र बनाउन आह्वान गर्नुभएको हो । उहाँले लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मुलभुत साधनहरु भएको र ति साधनहरु विवेक र मतदान भएको बताउनुभयो ।
उहाँले आफ्नो विवेकको प्रयोग गरी सही व्यक्तिलाई मतदान गरेर निर्वाचन गराउन र आफैँ पनि प्रतिनिधि बन्न आग्रह गर्नुभयो । उहाँले समस्त नेपालीको सपना यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनु जरुरी रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘लोकतान्त्रिक समाजमा नागरिकको सपना साकार पार्ने दुई मूलभुत साधन छन् । पहिलो तपाईं हामी नागरिकको विवेक हो । त्यो विवेक जसले सही गर्छ, गलत गर्दैन र गलत गर्न पनि दिँदैन । दोस्रो त्यो विवेकलाई प्रयोग गर्ने आधिकारिक साधन तथा मतदाता परिचय पत्र हो ।
जेन जी युवा र समस्त नेपालीको सपना नेपाललाई यथार्थको नेपाल बनाउन सबैभन्दा पहिला तपाईं हामीले मतदाता परिचयपत्र बनाउनुपर्छ । त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ । यहाँहरु आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गरौँ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय पत्र बनाऔँ ।’
उहाँले बेथितिसँग लड्न र देश विकासमा सँगै अघि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताउनु भयो । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर मतदाता परिचय पत्र बनाउन पनि आग्रह गर्नुभएको छ ।




प्रतिक्रिया दिनुहोस्