Logo २७ माघ २०८२, मंगलबार | Wed Feb 11 2026


जेनजी युवाको मुख्य मागलाई नै सरकारले बेवास्ता गरेकाे पूर्वप्रधानमन्त्री भट्टराईकाे दावी


273
Shares

काठमाडाैं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी युवाकाे आन्दोलनको मुख्य मागलाई नै सरकारले बेवस्ता गरेको दावी गर्नुभएकोछ।

काठमाडौंमा बिहीबार आयोजित जेनजी अगुवाहरुकोसँगको अन्तरसंवाद कार्यक्रममा बाेल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी अगुवाहरुलाई आफ्ना माग सम्बोधन गराउनको लागि सरकारसँग सम्झौता गर्न सुझाव दिनुभयो । जेनजी आन्दोलनको मुख्य माग नै भ्रष्टाचारीलाई कारबाही गर्ने भएपनि सरकारले अहिलेसम्म कारबाही प्रक्रिया अगाडी नबढाएको उहाँको भनाइ छ । उहाँले ठूला भ्रष्टाचारी र भ्रष्टाचारका ठूला ठूला काण्डहरु छानविनको लागि प्रक्रिया अगाडि बढाउन दबाब दिन सुझाव दिनुभयो।

पूर्वप्रधानमन्त्री भट्टराई गत भदौ २३ गतेको आन्दोलनको क्रममा भएका गोली प्रहारको पनि निष्पक्ष रुपमा छानविनको लागि दबाब बढाउन आग्रह गर्नुभएकाे छ। उहाँले छानविनको लागि समिति बने पनि दोषीलाई कारबाही गर्न ढिलो भएको बताउनुभयाे। उहाँले यसले गर्दा प्रमाण नष्ट हुने र दोषी उम्कने दावी गर्नुभएकाे छ। निर्वाचन गर्न पनि सरकारलाई दबाब दिनुपर्ने उहाँको भनाइ थियाे । निर्वाचन नभएमा संविधान असफल हुने उहाँले बताउनुभयाे। संविधानलाई असफल बनाउन केही तत्वहरु सक्रिय भएको पनि उहाँकाे भनाइ छ।

दुर्गा प्रसाईको आन्दोलनलाई लक्षित गर्दै उहाँले संविधान असफल बनाउनेहरुसँग शतर्क हुँदै समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिनुभयो । निर्वाचनको लागि सरकारले दुई वटा काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले विदेशमा भएकाहरुलाई पनि भोट हाल्ने व्यवस्था गर्नुपर्ने र जेनजीहरुलाई मध्यनजर गरेर मतदान गर्ने उमेरलाई १६ वर्ष र उम्मेद्वार बन्न पाउने उमेरलाई १८ वर्ष कायम गर्नुपर्ने बताउनुभयो । हाल मतदान गर्नको लागि १८ वर्ष हुनुपर्नेछ भने प्रतिनिधि सभाको सदस्य हुनको लागि २५ वर्ष र स्थानीय तहको जनप्रतिनिधि हुनको लागि २१ वर्षको हुनुपर्नेछ । यसलाई घटाएर तल्लो तहमा १८ र माथिल्लोमा २१ वर्ष कायम गर्न दबाब दिन समेत उहाँले सुझाव दिनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले जेनजीहरुलाई एकजुट भएर सरकारसँग आफ्ना माग राख्न पनि सुझाव दिनुभएकाे छ। सरकारले अध्यादेशमार्फत यी मागहरु पूरा गर्नसक्ने उहाँको भनाइ छ ।