Logo २० कार्तिक २०८२, बिहिबार | Thu Nov 6 2025


छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिन्छ: नेता केसी

कांग्रेसको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता

143
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले छोटो समयको तयारीमा पनि महाधिवेशन गर्न सकिने बताउनुभएकाे छ।

संस्थापन पक्षका कतिपय नेताले समय अभावले आगामी फागुन २१ गते हुने निर्वाचन अघि महाधिवेशन गर्न नसकिने बताइरहेको समयमा उहाँले बिहीबार विगतको उदाहरण केन्द्रीय समितिमा सुनाउनुभएकाे हाे।नियमित अधिवेशनको माग गर्दै नेता केसीले ११ औंं महाधिवेशन मात्रै ४० दिनको तयारीमा सम्पन्न भएको हामी कहाँ उदाहरण रहेकाे बताउनुभयाे । असाधारण परिस्थितिमा महाधिवेशन हुन सक्दैन भन्ने बहाना निरर्थक भएकाे उहाँकाे भनाइ छ।

त्यसबेलाको समय स्मरण गर्दै नेता केसीले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बुक गरिए पनि तत्कालीन शाही सत्ताले उक्त स्थल उपलब्ध नगराएको बताउनुभयाे। शाही सत्ताले सम्मेलन केन्द्र उपलब्ध नगराएपछि उद्घाटन जावलाखेलस्थित चिडियाखाना अगाडिको मैदानमा र बन्द सत्रहरू केन्द्रीय कार्यालय सानेपाको प्रांगणमा भएको समेत उहाँले जानकारी गराउनुभयाे।

पार्टी यथास्थितिमा राखेर निर्वाचनमा जानु घातक हुने उहाँले बताउनुभएकाे छ। महामन्त्री गगन थापाले ल्याएको प्रस्ताव अनुसार नियमित महाधिवेशन नगर्ने भए विशेषमा जानुपर्ने उहाँकाे भनाइ थियाे। उहाँले भन्नुभयाे,-‘५४ प्रतिशत सदस्यको विशेष महाधिवेशनको सामूहिक मागलाई न्यायोचित सम्बोधन गर्नु केन्द्रीय कार्यसमितिको अनिवार्य वैधानिक दायित्व हो । महाधिवेशनको समयावधि सिद्धियो भन्ने कुरा पनि सुनिन्छ । त्यसबाट निर्वाचित यो केन्द्रीय कार्यसमिति कुन आधारमा जीवित छ ? अर्को महाधिवेशन नहुञ्जेलसम्म यो जीवित रहन्छ भन्ने हेक्का राख्नु जरुरी छ ।’

आगामी निर्वाचनको बारेमा र मुलुकको पेचिलो परिस्थितिमा कांग्रेसको अबको मार्गचित्र सार्वजनिक गर्न पार्टीको नियमित वा विशेष महाधिवेशनको अनिवार्य आवश्यकता रहेकाे नेता केसीले बताउनुभयाे ।