काठमाडौं ।
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानबिन गर्न बनेको उच्चस्तरीय जाँचबुझ आयोगले प्रहरी महानिरीक्षक (आइजिपी) चन्द्रकुबेर खापुङसँग स्पष्टीकरण माग गरेको छ ।
बुधबार आयोगले आइजिपी खापुङलाई कारबाही किन नगर्ने भनेर २४ घन्टाभित्र लिखित जबाफ दिन निर्देशन दिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले जानकारी दिए ।
‘आइजिपीलाई ‘तपाईंलाई किन कारबाही नगर्ने’ भनेर स्पष्टीकरण सोधेका छौं,’ प्रवक्ता शर्माले भने, ‘२४ घन्टाभित्र जबाफ मागिएको छ ।’
उनका अनुसार आयोग गठन भएपछि भदौ २३ र २४ गते घटनाका बेला फिल्डमा को–को प्रहरी खटिएका थिए भन्ने विवरण माग्दै प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो । तर, २२ दिनसम्म पनि प्रहरी प्रधान कार्यालयले सो विवरण उपलब्ध गराएको थिएन ।
आयोगले पुनः पत्र पठाएपछि आएको जबाफमा आइजिपीदेखि जवानसम्म खटिएको सामान्य उल्लेख मात्र गरिएको थियो, तर विस्तृत विवरण भने नपठाइएको आयोगको आरोप छ ।
प्रहरीले विवरण नपठाएपछि आयोगले आइतबार आइजिपी खापुङकै नाममा २४ घन्टाभित्र जबाफ पठाउन निर्देशन दिंदै पत्राचार गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले विवरण काठमाडौं उपत्यका प्रहरी कार्यालयसँग भएको र त्यहाँबाट पठाउन समय लाग्ने भन्दै जबाफ फर्काएको थियो ।
प्रधान कार्यालयले समयमै विवरण नदिँदा आयोगको कार्यगत प्रक्रिया ढिलाइ भएको भन्दै आइजिपीसँग प्रत्यक्ष स्पष्टीकरण सोधिएको प्रवक्ता शर्माले बताए ।
यसैबीच, आइतबार आयोगले प्रहरी प्रधान कार्यालयलाई काठमाडौं उपत्यकामा भदौ २३ र २४ गते घटनामा खटिएका प्रहरी इन्चार्ज तथा कमान्डरहरूलाई उपत्यका नछाड्ने व्यवस्था मिलाउन पनि पत्राचार गरेको थियो ।
आयोगका अनुसार ती प्रहरी अधिकृतहरूलाई आवश्यक परेमा बयानका लागि बोलाउन सकिने भएकाले उनीहरूलाई उपत्यका नछाड्न भनिएको हो ।




प्रतिक्रिया दिनुहोस्