Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


न्युयोर्कमा भारतीय मूलका जोहरान ममदानी मेयर निर्वाचित


624
Shares

काठमाडौं ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले “कम्युनिस्टलाई भोट नदिनुहोस्” भनेर मतदातालाई आह्वान गरे पनि न्युयोर्कको मेयरमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जोहरान ममदानी विजयी भएका छन् ।

३४ वर्षीय ममदानी न्युयोर्कको सय वर्षको इतिहासमा सबैभन्दा कान्छा मेयर बनेका छन् । उनी पहिलो दक्षिण एशियाली मूलका मेयर समेत बनेका छन् । युगाण्डामा सन् १९९१ मा जन्मिएका ममदानीकी आमा चर्चित भारतीय फिल्म निर्देशक मीरा नायर हुन् ।

चुनावअघि ट्रम्पले ममदानीलाई ‘कम्युनिस्ट विचारधारा बोकेका उम्मेदवार’ भन्दै ती विजयी भए अमेरिकाले सहयोग गुमाउने चेतावनी दिएका थिए । तर मतदाताले ट्रम्पको चेतावनीलाई बेवास्ता गर्दै ममदानीलाई समर्थन जनाएका हुन् ।

ममदानी न्युयोर्कमा वामपन्थी विचार र सामाजिक समानताका पक्षधर नेताका रूपमा परिचित छन् । उनी इजरायलका नीतिहरूका कडा आलोचक मानिन्छन् । भारतको केरल राज्यमा निर्वाचित सबैभन्दा कान्छी कम्युनिस्ट मेयरको प्रशंसा गरेपछि पनि उनी अमेरिकी राजनीतिमा चर्चाको केन्द्र बनेका थिए ।

ममदानीले आफ्नो विजयपछि भने, “यो जित केवल एउटा समुदायको होइन, विविधता, समानता र न्यायमा विश्वास गर्ने सम्पूर्ण न्यूयोर्कवासीकै हो,” भन्दै समावेशी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।